धनगढी । नेकपा (एमाले) को मिसन ग्रासरुट कार्यक्रमको मंगलबार कैलालीको अत्तरियामा चार पालिकाको समीक्षा गरिएको छ ।
नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको उपस्थितिमा गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकाको संयुक्त समीक्षा भएको हो ।
समीक्षा कार्यक्रममा बोल्दै प्रदेश इन्चार्ज भट्टले पार्टी एकता, संगठन सृदृढीकरण, संगठनात्मक अराजकताको अन्त्य र अनुशासित पार्टी बनाउन मिसन ग्रासरुट चलाइएको बताउनुभयो ।
सो अवसरमा उहाँले सुदूरपश्चिममा विसु पर्वको ठूलो महत्व रहेकाले पर्वका अवसरमा पार्टीभित्रका मनमुटाव र कमजोरीलाई सिस्नु लगाएर अन्त्य गर्ने गरी एक कार्यक्रम गरिने जानकारी दिनुभयो । सुदूरपश्चिममा विसु पर्व नयाँ वर्षसंगै मनाउने चलन छ ।
सो कार्यक्रममा कैलालीका चार पालिकामा मिसन ग्रासरुटको नेतृत्व गर्नुभएका एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले युवा पुस्तालाई सैद्धान्तिकरूपमा प्रशिक्षित गरेर पार्टी काममा लगाउनुपर्ने बताउँदै पार्टी निकट सबै भातृ संगठनमा प्रतिस्पर्धा गर्न दिनुपर्ने भावना आम कार्यकर्ताको रहेको बताउनुभयो ।
उहाँले एमालेभित्रका अराजकता र आन्तरिक समस्या मिसन ग्रासरुट कार्यक्रमपछि समाधान हुने विश्वास व्यक्त गर्नुभयो । कैलालीमा स्थानीय, प्रदेश र संघको चुनावमा पराजय हुनाको कारण खोज्नुपर्ने बताउँदै एकअर्काप्रति सम्मान र आदरभाव कायम गर्नुपर्ने उहाँको भनाइ छ ।
पार्टीका प्रदेश कमिटी सचिव धर्मराज पाठकले पार्टीका सबै सदस्यले सबै ठाउँमा अवसर पाउँछन् भन्ने नै हँुदैन भन्दै पार्टी सरकारमा गएपछि जनताका पक्षमा काम गर्ने भएकाले पार्टी बलियो बनाउन सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
नेकपा (एमाले) कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले ३६४ दिन एमाले हुने, ३६५औं दिनमा अर्को पार्टीलाई भोट हाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।
यस्तै जिल्ला कमिटीका सचिव डेजी पाण्डेयले मिसन ग्रासरुट कार्यक्रमले एमाले कार्यकर्ता उत्साहित भएको बताउँदै यो उत्साह २०८४ को चुनावसम्म कायम राख्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा गोदावरी, गौरीगङ्गा, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकाका अगुवा कार्यकर्ताको सहभागिता थियो । सो अवसरमा चारवटै पालिकाका प्रतिनिधिहरूले ती पालिकामा एमालेको अवस्थाबारे प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्णप्रसाद भट्टको अध्यक्षतामा भएको थियो ।