detail-img

एमालेलाई जनताको व्यापक साथ र समर्थन छः गुरूङ

नवलपरासी । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेलाई जनताको व्यापक समर्थन रहेको बताउनुभएको छ । 
नवलपरासी सुस्ता पूर्वको देवचुली नगर कमिटीले मिसन ग्रासरूट अन्तर्गत आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरूङले देशी विदेशी शक्तिहरू लागेर नेकपा (एमाले) सिध्याउन खोजे पनि पार्टीलाई जनताको साथले गर्दा उनीहरूको सपना पूरा हुन नपाएको धारणा राख्नुभयो । 
गत मङ्सिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस, माओवादी लगायतको गठबन्धनले एमालेलाई  नौ सिटमा झार्ने र समानुपातिकसहित १५÷२० सिट मात्र पुर्याउने सपना देखेकोमा जनताको समर्थनले समानुपातिकमा पहिलो दल बन्दै ७९ सिट जित्न सफल भएको उहाँले बताउनुभयो । 
नेकपा (एमाले) असंलग्न परराष्ट्र नीतिमा अडिएको मुलकको एकमात्रै पार्टी भएकोसमेत उहाँले वताउनुभयो ।  
पार्टीमा असल परम्परा भत्किएकाले पार्टीलाई दुरुस्त राखी जनताको भावना बुझ्दै काम गर्न मिसन ग्रासरुट सञ्चालन गरिएको उपमहासचिव गुरुरूले बताउनुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य तिलक महतले पार्टीलाई एकढिक्का बनाएर जनताको भावना अनुसार काम गर्न अनुरोध गर्नुभयो । उहाँले पार्टीलाई मजबुत बनाउन सिद्धान्तमा दृढ भएर अघि बढ्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेश सचिवालय सदस्य तथा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने लगायत नेताहरूले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादीको वाईसीएल जिल्ला सचिवालय सदस्य चिरञ्जीवी पाण्डे र वाईसीएल नगर सदस्य शंकर काफ्ले नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो ।