तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनलाई केन्द्रित गरी नेकपा (एमाले) महिला निर्वाचन परिचालन समितिको आयोजनामा तनहुँ क्षेत्र नम्बर १ मा महिला विस्तारित बैठक सप्पन्न भएको छ ।
पार्टी सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यता र महिला निर्वाचन परिचालन समितिकी संयोजक कलाकुमारी ढकालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा पार्टी केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक भगवती न्यौपाने पनि सहभागी हुनुहुन्थ्यो । बैठकमा गाउँ, वडा तथा टोलमा महिलाहरूलाई परिचालन गर्ने योजना बनाइएको छ ।
बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले निर्वाचनमा एमाले र अरु पार्टीको मात्रै प्रतिस्पर्धा नभई राष्ट्रवाद र राष्ट्रघातबीच साथै विकास समृद्धि पक्षधर र विकास विरोधीबीचको प्रतिस्पर्धा भएको बताउनुभयो ।
नेपालीको स्वाभिमानका लागि र गुलामी गर्नेहरूलाई परास्त गर्न नेकपा (एमाले) ले निर्वाचनमा जित्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
यसैगरी, तनहुँको आँबुखैरनी गाउँपालिका कमिटीको आयोजनामा गोरखा जिल्लाका नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
भेटघाटमा गोरखाबाट तनहुँ बसाई सरेर आउनुभएका मतदाताहरुलाई नेकपा (एमाले) का उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरिएको छ ।
यस्तै, भानु नगरपाालिका वडा नम्बर १ मा कार्यकर्ता भेला, वडा नम्बर ६ मा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालयको उद्घाटन र वडा नम्बर १० मा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।