काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिष्ट विचार बोकेका कार्यकर्ताहरूको मन जोडेर नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्ति बनाइने वताउनुभएको छ ।
महासचिव पोखरेलले आज पार्टी कार्यालयमा नेकपा एकीकृत समाजवादी, ललितपुरका नेताकार्यकर्तालाई स्वागत गर्दै मुलुकको विकास र समृद्धि, सामाजिक न्यायको चाहना राख्ने सबैलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो– अब नेताहरूका टाउका जोडेर होइन, कार्यकर्ताका मन जोडेर नेकपा (एमाले) ले अर्को निर्वाचनमा एकल बहुमत हासिल गर्ने योजनाका साथ हामी अगाडि बढिरहेका छौं । त्यसैका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेका छौं ।
महासचिव पोखरेलले नेकपा एकीकृत समाजवादीमा तेस्रो बरियतामा रहनुभएका नेता मुकुन्द न्यौपानेसहितका नेताकार्यकर्ताहरू पनि एमालेमा फर्कने तयारीमा रहनुभएको खुलासा गर्नुभयो ।
देश नबन्नुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो भन्नुहुँदै महासचिव पोखरेलले अस्थिरता अन्त्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने र त्यसका लागि राजनीतिक ध्रूबीकरण अपरिहार्य छ भन्नुभयो ।
मुलुकमा बलियो कम्युनिष्ट पार्टी बनाउने पवित्र उद्देश्य र योजनाका साथ नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता गरिए पनि माओवादीले पार्टी कब्जा गर्ने दाउपेचयुक्त रणनीति अख्तियार गरेपछि त्यो पवित्र योजना सफल हुन नसकेको महासचिव पोखरेलले वताउनुभयो । उहाँले भन्नुभयो– माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि पार्टीभित्र संगठनात्मक अराजकता र औसरवाद यसरी पन्पियो कि पार्टी एकता जोगाउनै सकिएन । माओवादीले एमालेभित्र विभाजन ल्याई पार्टी कब्जा गर्ने दाउपेचयुुक्त रणनीति अख्तियार गर्यो ।
संसद विघटनलाई सङ्केत गर्दै महासचिव पोखरेलले भन्नुभयो– पार्टी जोगाउन चालिएका कदमलाई आधार बनाई एमालेलाई विभाजन गर्ने काम भयो, पार्टीका नेता कार्यकर्ता बाहिरिनुभयो । संविधान सहयोगी हुँदा मानेर अगाडि बढ्ने र नहुँदा बदल्ने हो । जनादेश खण्डित भएपछि नयाँ जनादेशमा जाने कुरा संविधान नमान्ने भन्ने होइन । संविधान मिचिएको भनेर पार्टीबाट बाहिरिनेहरू अहिले वर्तमान संविधान नमान्नेसँग सहकार्य गरिरहनुभएको छ ।
महासचिव पोखरेलले पाँचदलको असक्षमता जनतालाई बताउन नसक्दा पार्टीले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसके पनि जनमतको हिसावले पहिलो लोकप्रिय पार्टी एमाले भएको र निर्वाचनमा प्रमुख प्रतिस्पर्धी कांग्रेससँगको मतान्तर बढाउँदै लगेको वताउनुभयो । परमादेशबाट एमालेलाई सरकारबाट बाहिर बनाएयता देश निरन्तर आर्थिक सङ्कटतर्फ गइरहेको वताउनुभयो ।