झापा । अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन आजदेखि झापामा सुरु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आदिवासी रङ्गशालामा महासम्मेलनको उद्घाटन गर्नुभएको छ ।
महासम्मेलनको उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले वर्तमान सरकारले किसानका कुनै पनि समस्या हल गर्नै नसक्ने वताउनुभयो । वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै अध्यक्ष ओलीले यो सरकारबाट किसानले केही पाउछौं भन्ने आशै नगरे पनि हुने वताउनुभयो । अध्यक्ष ओलीले भोलि हुने प्रधानमन्त्रीसहित ठूला दलका शीर्ष नेताहरूको बैठकमा आफूले किसानका समस्या लगायतका बिषयहरू पनि उठाउने वताउनुभयो । महासम्म्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले किसानका मुद्दा उठाउने पार्टी भनेकै नेकपा (एमाले) मात्रै रहेको धारणा राख्नुभयो । महासम्मेलनको उद्घाटन सत्रमा अतिथिका रूपमा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोेगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा लगायत पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरुको उपस्थिति रहेको छ ।
महासंघका अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले सम्वोधन गर्नुभएको छ भने आजै सुरु भएको बन्दसत्रमा पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल र स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सम्वोधन गर्नुभएको छ ।
भोलिसम्म चल्ने महासम्मेलनले महासंघको नयाँ नेतृत्व चयन गर्ने छ । महासम्मेलनमा आयोजक कमिटीका सदस्य र देशभरबाट आएका प्रतिनिधि गरी करिव एकहजार एकसय जनाको सहभागिता रहेको छ।