detail-img

एक–अर्कालाई सिस्नो लगाएर मनाइयो सुदूरपश्चिममा विसु पर्व

धनगढी । नेकपा (एमाले) का नेताहरूले एक–अर्कालाई सिस्नो लगाएर सुदूरपश्चिमको मौलिक पर्व विसु र नयाँ वर्ष मनाएका छन् । 
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेताहरूलाई सिस्नो लगाएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।  
पौडेलले सिस्नो लगाएपछि अरू नेताहरूले पनि एक–अर्कालाई सिस्नो लगाउनुभयो ।  मञ्चमा नेताहरूबीच सिस्नो लगाउने होड चलेपछि हलमा रहेका कार्यकर्ताबीच पनि एकअर्कालाई सिस्नो लगाउने प्रतिस्पर्धा चलेको थियो । 
‘विसु पर्व सामाजिक एकता कायम गर्न महत्वपूर्ण हुने थाहा पाएपछि मैले नै यो कार्यक्रम आयोजना गर्ने सल्लाह दिएँ’ सुदूरपश्चिममा मिसन ग्रासरुट अभियानका अनुगमन कमाण्डर समेत रहनुभएका पौडेलले भन्नुभयो ।


वर्षभर भएका मनमुटाव अन्त्य गर्ने, एकता र भाइचारा वृद्धि गर्ने यो पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउन आफूले पहल लिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पर्वको जगेर्ना गर्न जरूरी छ, यो पर्वलाई हरेक वर्ष सुदूरपश्चिममा मात्र होइन, घर–घर र टोलटोलमा मनाउन जरूरी छ ।’
जसरी सुदूरपश्चिमको देउडा देशभर प्रिय बनेको छ, त्यसैगरी विसु पर्व पनि सबैलाई मनपर्ने पर्व सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । विसु पर्वले विगतका मनमुटाव भुलेर एकताका साथ असल सङ्कल्प लिएर अघि बढ्ने सन्देश दिन्छ, आज विसु पर्व मनाएपछि पनि एमालेका नेताले झैझगडा गरेमा आफूलाई उहाँको नाम दिन पनि नेता पौडलले आग्रह गर्नुभयो । 
सुदूरपश्चिमका नेतावीचको आपसी एकता कायम रहेमा यो प्रदेशमा एमाले एक नम्बर पार्टी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सबै नेता र कार्यकर्ताबीच एकता कायम हुनुपर्छ उपाध्यक्ष पौडेलले बताउनुभयो । 
कार्यक्रममा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले विसु पर्वको औचित्यबारे प्रकाश पार्दै यो पर्व सुदूरपश्चिम, कर्णालीका साथै भारतका कुमाउ गढवालतिर पनि प्रसिद्ध रहेको वताउनुभयोे । 
प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यद्वय  विन्दा पाण्डे र कर्ण बहादुर थापाले विसु पर्वको सन्देश अनुसार पार्टी बलियो बनाउनु आपसी एकता बलियो हुनुपर्नेमा जोड दिनुभयो ।  
विसु पर्व मनाउन कैलालीको पहाडी क्षेत्रको पालिका चुरेबाट सिस्नु ल्याइएको थियो । कार्यक्रममा खाजाको रूपमा सुदूरपश्चिम प्रदेशको विशेष परिकार बटुक खुवाइएको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता थियो ।