detail-img

चितवनमा भ्रम हट्दै गएकाले जित एमालेको हुन्छः भट्टराई 

चितवन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा चितवन– २ का बहुसङ्ख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 
भरतपुर–१२ मा शनिबार नेकपा (एमाले) द्वारा गरिएको चुनावी घरदैलोमा सहभागी हुँदै सचिव भट्टराईले नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएको र त्यो दिनानुदिन हट्दै गएको वताउनुभयो । 
‘यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो, विगत निर्वाचनमा केही भ्रमहरू सिर्जना गरिए । अहिले भ्रमहरू हट्दै गएको पाएँ । एमालेको जित हुनेमा विश्वस्त छु’ कार्यकर्ता माझ भट्टराईले भन्नुभयो । 
जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै आफ्नो चरित्र देखाएको उहाँको भनाइ छ । ‘के–के भन्थे, के–के गरे, सबैले थाहा पाइसक्नुभयो, अब भ्रमको पर्दा उध्रिसकेको छ’ भट्टराईले भन्नुभयो ।
मतदाताको चाहना बमोजिम युवा र परिपक्व उम्मेदवारका रूपमा पार्टीले रामप्रसाद न्यौपानेलाई अघि सारेको उहाँले उल्लेख गर्नुभयो । ‘रामजी यहाँको विकासमा योगदान गर्न सक्ने र जनताको गुनासो सुन्न सक्ने स्थानीय सक्षम युवा हुनुहुन्छ, अहिलेको पुस्ताको भावना बुझ्न सक्ने पार्टीको जिल्ला अध्यक्ष पनि हो’ भट्टराईले भन्नुभयो । 
समृद्ध नेपाल निर्माण गर्ने ठोस कार्ययोजना सहित एमाले अघि बढेको बताउँदै उहाँले अन्य पार्टीका गतिविधि र कार्यशैलीका कारण जनतामा निराशा छाएको उहाँको भनाइ छ । 
जनचाहना अनुरुप समृद्धिको अभियान अघि बढाउन मुलुकको नेतृत्व एमालेबाट मात्रै सम्भव रहेको उहाँले बताउनुभयो । भरतपुर–१२ एमाले वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्यौपानेको अगुवाइमा पोखरेली टोल, आनन्द टोल, प्रेरणा टोल क्षेत्रमा चुनावी घरदैलो गरिएको थियो । कमिटीले वडाका विभिन्न टोलमा तालिका बनाएर दिनहुँ घरदैलो गरिरहेको सचिव शोभा पण्डितले जानकारी दिनुभयो ।


यसैगरी, शनिबारै भरतपुर महानगरपालिकाको वडा नम्बर २९ र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले घरदैलोका क्रममा मतदाताहरूले गरेको गुनासो सम्बोधन गर्ने बताउनुभयो ।
स्थानीयले न्यौपानेसँग खानेपानी, सडक, स्वास्थ्य र शिक्षाका बारेमा गुनासा गरेका थिए । न्यौपानेले यसअघि एमालेबाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले चितवन २ मा धेरै कामहरू गरेको उल्लेख गर्दै बाँकी रहेका स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलगायत जनताका समस्या सम्बोधन गर्न आफू हरदम तयार रहेको वताउनुभयो । 
आफू यही चितवनमा पढेको र बढेको उल्लेख गर्दै चितवनका जनताको गुनासाका बारेमा जानकार रहेकाले यहाँको समस्या समाधान गर्नका लागि खरोरूपमा उत्रिने प्रतिबद्धता न्यौपानेले व्यक्त गर्नुभयो । यस क्षेत्रका मतदाताहरुले न्यौपानेलाई स्वागत गर्दै अबिर र टीका लगाएर जितका लागि आशिर्वाद एवं शुभकामना दिएका छन् । घरदैलोका क्रममा न्यौपानेसँगै एमाले नेताहरू कृष्णभक्त पोखरेल, नारायणप्रसाद अधिकारी, श्रीप्रसाद दवाडी, विद्यार्थी नेताहरू तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।