detail-img

देश चरम आर्थिक सङ्कटमाः महासचिव पोखरेल 

हेटौडा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश चरम आर्थिक र राजनीतिक सङ्कटमा फसेको बताउनुभएको छ । 
मिसन ग्रासरुट अन्तर्गत शनिबार हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारकै कारण देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको र कर्मचारीलाई तलब खुवाउन समेत वैदेशिक ऋण लिनुपर्ने अवस्थामा पुगेको बताउनुभएको हो ।

उहाँले सरकार सञ्चालन गर्न र कर्मचारीलाई तलब खुवाउनकै लागि ऋण लिनुपर्ने स्थिति उत्पन्न हुनु मुलुकका लागि खतराको सङ्केत हो भन्नुभयो  । कर्मचारीलाई तलब खुवाउनका लागि ऋण लिनुपर्ने, खर्च र आम्दानीको बीचमा दुई खर्बको अन्तर हुनु, आम्दानी भन्दा खर्च दुई खर्ब ज्यादा हुनुले मुलुकको आर्थिक अवस्था सङ्कटमा फसिसकेको स्पष्ट हुने उहाँको धारणा छ । महासचिव पोखरेलले देश सङ्कटबाट गुज्रिरहनुको मुख्य कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस र माओवादीले अवलम्बन गरेको अघिल्लो १५ महिनाको आर्थिक क्रियाकलापको परिणामले देश आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउनुभयो । 
बजेट बनाउने बेलामा एकजना व्यापारीका एजेन्टलाई राखेर करका दरहरू हेरफेर गरेका कारण अहिले देश आर्थिक सङ्कटबाट गुज्रिरहँदा पनि ति व्यापारीको सम्पत्ति भने अर्बौंले बढिरहेको उहाँको भनाइ छ । प्रशिक्षण कार्यक्रममा मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधि पार्टीका पोलिटव्यूरो सदस्य पार्वत गुरूङ लगायत नेताहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।