लमजुङ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, दलित, एकल महिलालगायतलाई राज्यबाट प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कटौती गर्न लागेको बताउनुभएको छ ।
सरकारको गतिविधिले जनता त्रासमा रहेको भन्दै सामाजिक सुरक्षा भत्ता नरोक्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
नेकपा (एमाले) बेंसीसहर नगरपालिका–६, वडा कमिटीद्वारा शनिबार आयोजित मिसन कार्यकर्ता भेला र शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकार जनताप्रति कुनै उत्तरदायी नदेखिएको धारणा राख्नुभयो ।
पहिले नै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल मिलेर देशको ढुकुटी रित्याइसकेको वताउँदै उहाँले एमालेको सरकार रहँदा एक वर्ष पुग्ने मुद्रा सञ्चित गरेर राखेकोमा देउवा र प्रचण्ड मिलेर दोहन गरेको बताउनुभयो ।
देशलाई डुबाउन देशी, विदेशी शक्ति मिलेर नेकपा (एमाले) लाई एक्ल्याउन खोजेको उहाँको भनाइ छ ।
नेकपा (एमाले) केन्द्रीय सदस्य एवं लमजुङ सहइन्चार्ज जमिन्द्रमान घले, पार्टी केन्द्रीय सदस्य मीना गुरुङ, एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मनाथ अधिकारी, पार्टी गण्डकी प्रदेश सदस्य एवं बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, पार्टी जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमाललगायतले मिसन ग्रासरुटबाट पार्टी तल्लो तहमा पुगेको भन्दै पार्टीप्रति जनताको आकर्षण बढ्दो रहेको बताउनुभयो ।