detail-img

उपत्यका विशेष प्रदेशको अधिवेशन असोज ११ र १२ गते 

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको पहिलो अधिवेशन आगामी असोज ११ र १२ गते हुनेभएको छ । 
नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको उपस्थितिमा कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा बसेको कमिटीको दशौं पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो ।


बैठकले अधिवेशन तयारीका लागि अध्यक्ष प्रेम कुमार पराजुलीको संयोजकत्वमा राजनीतिक सांगठनिक प्रतिवेदन लेखन समिति र प्रतिनिधि निर्धारण तथा व्यवस्थापन समिति गठन गरेको छ ।
त्यसरी नै अधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि उपसचिव चन्द्र रिजालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, उपसचिव उर्मिला सुनुवारको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति र उपाध्यक्ष विदुर कार्कीको संयोजकत्वमा स्वयंसेवक तथा हल व्यवस्थापन उपसमिति गठन गरेको छ । बैठकमा इन्चार्ज सुजिता शाक्यले अन्तरपार्टी निर्देशन– ७ मा उल्लेख भए अनुसार प्रदेशका नेता कार्यकर्ताहरूलाई आ–आफ्नो जिम्मेवारी अनुसार कार्यक्षेत्रमा सक्रियता साथ लाग्न आग्रह गर्नुभयो । 
बैठकमा केन्द्रीय सदस्यहरू उद्योग व्यवसाय विशेष जिल्ला कमिटी इन्चार्ज बालिका गिरी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज सीता लामा र पेशागत विशेष जिल्ला कमिटी इन्चार्ज बीना श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।  
बैठकले पार्टी केन्द्रको निर्देशानुसार मातहत जिल्लाद्वारा प्रस्तुत नवीकृत र नयाँ सदस्यहरूको सूची अनुमोदन गरेको छ । 
गत वैशाख २८–३० गते सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले उपत्यका विशेष प्रदेश कमिटीका सदस्यहरू कुलबहादुर आचार्य, बाबुराम अधिकारी, बालकृष्ण गिरी, बलराम खत्री, गुप्त बहादुर केसी र लक्ष्मण बहादुर रायमाझीलाई केन्द्रीय सल्लाहकार परिषदमा र समीर नेपाललाई केन्द्रीय निर्वाचन आयोगमा मनोनयन गर्ने निर्णय गरेकोमा केन्द्रीय कमिटीलाई हार्दिक आभार व्यक्त गर्दै केन्द्रीय निकायमा मनोनीत सदस्यहरूलाई बैठकमा बधाई ज्ञापन गर्नुका साथै सम्मान गरिएको छ । साथै, विगतमा उपत्यका विशेष प्रदेश कमिटीमा रहेर पुर्याउनुभएको योगदानका लागि धन्यवाद ज्ञापन गरियो ।