detail-img

एमाले सबैखालका भ्रष्टाचारको छानविनका पक्षमाः गौतम

धनगढी । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एमाले सबैखाले भ्रष्टाचारको छानविनको पक्षमा रहेको बताउनुभएको छ । 
शनिबार धनगढीमा नेकपा (एमाले) सुदूरपशिचम प्रदेश कमिटीको प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा बैठकमा बोल्दै गौतमले एमाले कुनै पनि भ्रष्टाचारमा संलगन नभएको र सबै भ्रष्टाचार छानविन गर्न तयार रहेको वताउनुभयो । 
उहाँले भ्रष्टाचारीहरूले नै एमालेमाथि औंला ठड्याउने काम गरिरहेको बताउनुभयो । 
गौतमले भन्नुभयो– भ्रष्टाचारीहरू नै एमालेमाथि औैला ठड्याउने काम गरिरहेका छन, ललिता निवासको जग्गा उत्खनन् गर्ने काम एमाले नेतृत्वको सरकारले गरेको हो, हिजो ललिता निवासको छानविनमा अवरोध गर्नेहरू नै आज हामीमाथि प्रश्न उठाउने काम गरिरहेका छन्, भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकार नै एमालेमाथि दोष देखाउने काम गरिरहेको छ । 
उहाँले नेकपा (एमाले) भ्रष्टाचार निर्मुल पार्न हिँडेको पार्टी भएको कामबाटै प्रमाणित भइसकेको बताउनुभयो । उहाँले एमाले नेतृत्वमाथि हिलो छ्याप्दै पशुपतिको जलहरी काण्ड उछालेको तर सत्तापक्ष नै माफी माग्न बाध्य हुनुपरेको घटाना स्मरण गर्नुभयो । जलहरीमा अख्तियारको छानविनले कुनै खोट नभेटेपछि उनीहरूको अनुहार चाउरिएको र तथ्यसामू झुटो टिक्न नसकेको उहाँको भनाइ छ ।
एमालेले राष्ट्रको हितमा गरेका कामबाट अताल्लिएकाहरू पनि हिलो छ्यापी रहेका छन्, म प्रष्ट भाषामा भन्न चाहन्छु, एमालेलाई जिस्क्याउने काम नहोस्, गौतमले भन्नुभयो ।
बैठकमा नेकपा (एमाले) केन्द्रीय कमिटीबाट खटाइएका सुदूरपश्चिममा प्रचार संयोजक कमला बोहरा र केन्द्रीय प्रचार विभाग सचिव गगन बिष्टले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विभाग प्रमुख गौतमसहित पोलिटव्यूरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्य भैरब बहादुर सिंह, सन्तोष कुमारी शर्मा, केन्द्रीय सल्लाहकार डिल्लीराज भट्ट, अनुशासन आयोग सदस्य पबित्रा तिमिल्सिना, प्रदेश अध्यक्ष दामोदर भण्डारी र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आजको चुनौतीको सामना र तथ्यको आधारमा सत्य स्थापित गर्न अवलम्बन गर्नुपर्ने शैलीबारे सुझाव राख्नुभयो । बैठकले सुदूरपश्चिम प्रदेशको प्रचार विभागलाई पूर्णता दिएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लोग्शरी कुँवरले सञ्चालन गर्नुभएको कार्यक्रममा नौ वटै जिल्लाका नेकपा (एमाले) का प्रचार विभाग प्रमुख र प्रेस चौतारीका सुदूरपश्चिम अध्यक्ष कृष्ण वलीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले स्वागत गर्नुभएको थियो ।