detail-img

कोशी प्रदेशमा सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल थालियोस्ः नेकपा (एमाले) 

काठमाडौं । नेकपा (एमाले) ले असंवैधानिक ढङ्गले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालयको २३औं बैठकले समसामयिक प्रस्ताव पारित गर्दै कोशी प्रदेशमा सरकार गठनमा सत्ता गठबन्धनबाट असंवैधानिक कदम चालिएको ठहर गर्दै उक्त कदमको भर्त्सना गरेको छ । 
नेपालको संविधानले सभामुख पदलाई निष्पक्ष र तटस्थ भूमिकामा रहेर व्यवस्थापिकाको नेतृत्व गर्ने संवैधानिक  भूमिका तय गरेको र संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको हुँदा सभामुखले दलीय आवद्धताबाट अलग हुने प्रचलन रहेको उल्लेख गर्दै एमालेको सचिवालयबाट पारित प्रस्तावमा भनिएको छ– सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं सङ्लग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ ।
वर्तमान सत्ता गठबन्धन संविधानको उल्लङ्घन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रलाई जगैदेखि खल्बल्याउने काममा उद्यत् र कोशी प्रदेशसभामा सत्ता गठबन्धनबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रूपमा रहेको नेकपा (एमाले)को ठहर छ ।