detail-img

लम्पी स्किन सङ्क्रमण रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण 

काठमाडौं । नेकपा (एमाले)ले देशैभरि फैलिएको लम्पी स्किन रोगबाट किसानले अपूरणीय क्षति व्यहोर्नुपरेको जनाउँदै सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, किसानलाई बिमा र राहत रकम तत्काल भुक्तानी गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । 
पार्टीको शनिबार बसेको २३औं केन्द्रीय सचिवालय बैठकमा किसानले व्यहोर्नुपरेको क्षतिका विषयमा गम्भीर र गहन छलफल गरी सरकारलाई रोग नियन्त्रणका लागि खोपको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग जोडदार माग गरेको छ । 
लम्पी स्किन रोगबाट हालसम्म ७ लाख ६४ हजारभन्दा बढी चौपाया सङ्क्रमित भएको, २७ हजार गाईवस्तुको मृत्यु भइसकेको, यसबाट हालसम्म किसानहरूले अर्बौंको नोक्सानी ब्यहोर्नु परेको र सङ्क्रमण निरन्तर फैलिइरहेको भयावह तथ्याङ्क सार्वजनिक भएको उल्लेख गर्दै नेकपा (एमाले)को सचिवालय बैठकबाट पारित प्रस्तावमा भनिएको छ– चारमहिना अगाडिदेखि फैलिएको यस महामारीलाई रोक्न सरकारले कुनै प्रभावकारी कदम चालेको छैन । सङ्क्रमण रोक्न खोप सहज ढङ्गले उपलव्ध भइरहेको छैन । पशु बिमा गराएका किसानहरुले बिमा रकम भुक्तानी पाउन सकेका छैन र अन्य राहत पनि नगण्य मात्रै रहेको छ । 
किसानहरूले व्यहोर्नु परेको यस अपूरणीय क्षतिलाई न्यून गर्न तत्काल प्रभावकारी कदम चाल्न, बिमा रकम तत्काल भुक्तान गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानहरुलाई राहत दिन नेकपा (एमाले)ले सरकारसँग गम्भीर ध्यानाकर्षण र जोडदार माग गरेको छ ।