detail-img

राम्रो गर्ने र राम्रो गर्न बाध्य बनाउने कार्यभार एमालेको होः कँडेल

सुर्खेत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले निर्वाचन जितेका स्थानीय तहमा राम्रो गर्ने र हारेका स्थानमा सत्ता पक्षलाई राम्रो गर्न बाध्य बनाउने कार्यभार पार्टीको भएको बताउनुभएको छ । 
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको स्कुल विभागले आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै  दैलेख जिल्ला इन्चार्ज समेत रहनुभएका स्थायी कमिटी सदस्य कँडेलले पार्टीभित्र पूर्व मान्यता र प्रभावमा प्रस्तुत हुने प्रवृत्तिका कारण पार्टीको आकार खुम्चिँदै गएको बताउनुभयो । 
पार्टीका हरेक तह र तप्कामा पूर्व मान्यता पूर्व प्रभावमा प्रस्तुत हुने प्रवृत्तिले पार्टीमा समस्या सिर्जना भएको देखिन्छ’ नेता कँडेलले भन्नुभयो–अनुहारका आधारमा विष्लेषण गर्ने, जिम्मेवारी दिने, विचार गर्ने कुराले पार्टीभित्र सङ्कुचितपन बढ्दै गएको छ । जसले पार्टीमा नेता बढे पनि मत घट्दै गएको देखिन्छ ।
‘कर्णालीमा आज ६२ हजार पार्टी सदस्य छौं, २४ हजार पार्टी कमिटीमा आवद्ध छौं । तर, पार्टी सदस्यता नवीकरण गर्नेको सङ्ख्या कमिटीमा रहेको संख्या अर्थात २४ हजार भन्दा तलै छौं । यसले हाम्रो पार्टी संगठन कतातर्फ जाँदैछन् भन्ने कुरा छर्लङ्ग बनाएको छ’ उहाँले भन्नुभयो–जबसम्म हामीले नाफा र नोक्सानको हिसाव गरेर विचार बनाउने कुराको अन्त्य गर्दैनौं तबसम्म पार्टीलाई सुदृढ बनाउने काममा पनि चुक्दै जान्छौं । 
नेता ठूलो हुने तर आफ्नो वडा र पालिकामा चुनाव हार्ने नेताहरूको सङ्ख्या बढ्दै जानु नैं एमाले कमजोर हुने पहिलो कारक भएको उल्लेख गर्नुभएका नेता कँडेलले गुरु बन्न सहज छ तर शिष्य बन्न कठिन हुने भएपनि शिष्यसहितको गुरु प्रशिक्षणका सहभागीलाई निर्देशन दिनुभएको छ । पार्टीले अब जितेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा राम्रो गरेर देखाउने, नजितेका ठाउँमा जनताका मुद्दा उठाएर वा राम्रो काम गर्न बाध्य बनाएर नेकपा (एमाले) लाई अघि बढाउन निर्देशन दिनुभयो ।


तालिमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा सुर्खेत जिल्ला इनचार्ज गोरखबहादुर बोगटीले पार्टीको पाँच दिने प्रशिक्षणले कर्णालीमा ठूलो वौद्धिक जनशक्ति तयार भएको बताउनुभयो । 
सातवटा प्रदेशमा प्रशिक्षणको आयोजना गर्ने कर्णाली पहिलो भएको उल्लेख गर्दै नेता बोगटीले कर्णाली स्कुल  विभागलाई बधाई दिनुभयो । 
‘पार्टीले सञ्चालन गरेको पाँच दिने प्रशिक्षणमा दशवटै जिल्लाबाट सहभागी भएका पार्टीका नेताहरू प्रदेश पार्टीका प्रशिक्षकका रूपमा तयार हुनुभएको छ । यो पार्टीको लागि सबैभन्दा ठूलो वौद्धिक सम्पत्ति हो,’ स्थायी कमिटी सदस्य बोगटीले भन्नुभयो–आगामी दिनमा पार्टीले सञ्चालन गर्ने हरेक प्रशिक्षणमा प्रदेश स्कुल विभागले यो जनशक्ति उपयोग गर्न सक्ने छ । 
उच्चतम क्षमतायुक्त पार्टीका नेताहरू निर्माण गर्ने उद्देश्य प्रशिक्षणको रहेको बताउनुभएका पार्टीका प्रदेश अध्यक्ष तथा स्कुल विभागका प्रमुख विनोद कुमार शाहले पार्टीभित्रको अध्ययनको ढोका खुलेको वताउनुभयो ।  ै नेता शाहले पार्टीभित्रको वैचारिक र सैद्धान्तिक सिकाइको यात्रा कर्णालीमा प्रारम्भ भएको भनाइ राख्नुभयो ।   
जहाँ नेपाली छन् त्यहाँ एमाले हुने तर पनि निर्वाचन एमालेले हार्ने समस्या हामीभित्रै छ । म मात्रै भए सबै ठिक अरु भए सबै बेठिक भन्ने प्रवृत्ति पार्टीभित्र ठूलो समस्याका रुपमा रहेको छ । यसलाई सच्याउन प्रशिक्षण  आवश्यक छ प्रदेश अध्यक्ष शाहले भन्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णालीका समन्वयकर्ता विष्णु रिजाल, केन्द्रीय सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला लगायत नेताहरूले आफ्ना धारणा राख्नुभएको थियो । 
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी पार्टी स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम यही असार २७ गतेदेखि शुरु भएको थियो । प्रशिक्षणमा पार्टीका उपमहासचिव प्रदिप ज्ञवाली, सचिव लेखराज भट्ट, स्थायी कमिटि सदस्यद्वय यामलाल कँडेल, गोरखबहादुर बोगटी, बद्री खनाल, घनश्याम कोइराला, विष्णु रिजाल, वाइपी आचार्य, गेहेन्द्र दाहाललगायतका नेताहरूले विभिन्न १३ वटा विषयमा प्रशिक्षण दिनुभएको थियो ।