detail-img

पार्टीका आधारभूत नीतिका आधारमा काम अगाडि बढाउन अध्यक्षको निर्देशन 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति, कार्यक्रम र गन्तव्यको आलोकमा नीति, अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आफ्नो कामलाई अगाडि बढाउनुपर्ने वताउनुभएको छ ।
अध्यक्ष ओलीले नीति, अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आज पार्टी कार्यालय, च्यासलमा बसेको दशौं बैठकमा निर्देशनात्मक मन्तव्य राख्नुहुँदै नेकपा (एमाले) नीति, कार्यक्रम र गन्तव्यका दृष्टिले सर्वाधिक स्पष्ट पार्टी भएको वताउनुभयो । अध्यक्ष ओलीले हाम्रा नीति कार्यक्रम र गन्तव्य परिपूर्ण हुँदा हुँदै पनि वर्तमानको शक्ति सन्तुलन र चुनौतीलाई ध्यानमा राखेर अध्ययन र अद्याबधिक गरिरहनुपर्ने धारणा राख्नुभयो ।


उहाँले नेकपा (एमाले) ले २०५१ सालमा पहिलो पटक सरकार गठन गर्दा राज्य सञ्चालन र विकासका सन्दर्भमा नयाँ थेसिस अगाडि बढाएको, संविधान निर्माणको  सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै त्यसपछि सरकारको नेतृत्व गर्दा जनतालाई राज्यबाट उपलब्ध गराउने सेवासुविधा, विकास, र राष्ट्रिय हितका सवालमा अन्य दलले भन्दा फरक ढङ्गले काम गरेको चर्चा गर्नुभयो । 
अहिले मुलुकको राजनीति आफूले राम्रो काम गर्ने नभई अरुलाई बेठीक कसरी देखाउने भन्ने ढङ्गले अगाडि बढेको र गठबन्धनमा रहेको दलहरू राजनीतिलाई अपराधिकरणतर्फ लैजान सहयोगी बनिरहेको उहाँको भनाइ छ । गठबन्धन सरकार अत्यन्त पूर्वाग्रही, दमनकारी रहेकाले यसलाई सुझाव, सल्लाह दिनु व्यर्थ हुने अध्यक्ष ओलीले वताउनुभयो । 
अध्यक्ष ओलीले सरकारले भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही होइन भ्रष्टाचार गर्नका निम्ति काम गरिरहेको वताउँदै ललिता निवास जग्गा प्रकरणमा अहिले सरकारले चालेको कदम कर्मचारीलाई साइजमा ल्याउन र व्यापारीबाट पैसा असुल्ने अभियान हो भन्नुभयो ।  
ललिता निवास जग्गा प्रकरण पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा बनाइएको छानविन समितिले प्रतिवेदन बुझाएपछि कारबाही अगाडि बढाउनका लागि आफूले प्रधानमन्त्री रहेकै समयमा प्रहरीको अनुसन्धान विभाग सीआइवीलाई पत्र पठाएको उहाँले वताउनुभयो । 
अध्यक्ष ओलीले राजनीति आस्थाहीन, आदर्शहीन हुँदै गएको, वर्तमान गठबन्धनले समाज, राष्ट्रियता र विकासलाई ओरालो लगाउँदै गएको, सामाजिक÷साँस्कृतिक क्षेत्रमा अधोपतनतर्फ लागिरहेको चर्चा गर्दै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने अभिभारा पार्टीको काँधमा रहेको भनाइ राख्नुभयो । 
उहाँले भन्नुभयो– विकसित देश, सामाजिक न्यायसहितको शान्तिपूर्ण समाज निर्माणका लागि हामीले निर्धारण गरेको गन्तव्य एकदम सही छ, सफल पार्न सकिन्छ । त्यस कारण पार्टीका आधारभूत नीतिका आधारमै अगाडि बढ्नुपर्छ यो प्रतिष्ठान र यसले बनाउने विभिन्न डेस्कहरू । 
बैठक नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष तथा नीति, अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा प्रमुख पोखरेलले समय तालिकासहितको आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा प्रशिक्षण, समसामयिक विषयमा गोष्ठी र प्रकाशन लगायत रहेका छन् । बैठकमा विगतका कामको रिपोर्टिङका साथै विभिन्न विषयका डेस्क गठनका सम्बन्धमा पनि छलफल गरिएको थियो । डेस्कको संयोजन प्रतिष्ठानको निर्देशक कमिटीका सदस्यहरूले गर्नुभएको छ ।