detail-img

नेपाली सेनाका बारेमा भइरहेको चर्चा सम्बन्धमा भूपू सैनिक तथा प्रहरीको धारणा


काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले नेपाली सेनाका सम्बन्धमा भइरहेका चर्चा र टीकाटिप्पणीप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै करिव अढाईसय बर्षदेखि देशको रक्षामा खटेको नेपाली सेनाका सम्बन्धमा हलुङ्गो ढङ्गले नबोल्न आग्रह गरेको छ । 
संगठनका अध्यक्ष विनोद पाण्डेले विज्ञप्तिमार्फत् संगठनको धारणा सार्वजनिक गर्दै नेपालको सार्वभौमसत्ताको रक्षा, स्वतन्त्रता र हाम्रो मुलुकको अखण्डता, स्वाधीनता र नेपालीबीचको राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको गौरवशाली इतिहास महत्वपूर्ण रहेको हुँदा यस गरिमामय संस्थाकाबारेमा बोल्दा या नीति निर्माण गर्दा हलुङ्गो ढङ्गले नगरिदिन आग्रह गर्नुभएको छ । 
नेपाली सेनाको सङ्ख्या घटाउने विषयमा धारणाहरू आइरहेका सन्दर्भमा संगठनले आफ्नो धारणा सार्वजनिक गरेको हो । 
नेपालको संविधानमा नेपाली सेना, यसको भर्ना प्रक्रिया र काम कर्तव्यबारे भाग २८ धारा २६७ मा स्पष्ट रहेको उल्लेख गर्दै अध्यक्ष पाण्डेले विज्ञप्तिमा आफ्नो नेतृत्वको संगठन नेकपा (एमाले) को जनसंगठन भएको र पार्टीको नेपाली सेना र अन्य सुरक्षा निकायको पुनर्संरचना गर्ने, सङ्ख्या घटाउने कुनै आधिकारिक धारणा नरहेकाले भ्रममा नपर्न आम सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । 
आफूहरूको संगठन अवकाश प्राप्तहरूको संगठन भएकाले मातृभूमि र नेपाली जनताको सेवा गर्न सधै लागिपर्ने जनाउँदै अध्यक्ष पाण्डेले भूतपूर्व सैनिक तथा प्रहरीहरूलाई यस देशप्रेमी संगठनमा आवद्ध हुन पनि आह्वान गर्नुभएको छ ।