detail-img

देश बनाउने स्पष्ट दृष्टिकोण र योजना एमालेसँग मात्रः अध्यक्ष ओली

नेपालगन्ज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट दृष्टिकोण र योजना एमालेसँग मात्र रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीद्वारा शनिबार नेपालगञ्जमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउनका लागि एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताउनुभयो ।


उहाँले नेकपा (एमाले)ले मिसन–२०८४ लाई ध्यानमा राखेर आफ्ना सबै कामलाई अगाडि बढाइरहेको वताउँदै यसलाई सफल बनाउन पार्टीको बहुमत आउने गरी तयारी गर्न निर्देशन दिनुभयो । 
उहाँले आगामी चुनावमा एमालेले एक्लै बहुमत ल्याएपनि एमालेको नीतिसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने बताउनुभयो ।
अध्यक्ष ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भइरहेकाले सक्रिय र सतर्कतासाथ योजनबद्ध ढङ्गले लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन भित्र्याउने प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतोको आशङ्का प्रकट गर्नुभयो ।
सुन भित्रिएको घटनाको सरकारले नैतिक जिम्मेवारी नलिएसम्म आफूहरूले यो विषयलाई उठाईरहने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रिन सक्दैन, एक दुई वस्तु लिएर आउँदा पटक पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो, यो सेटिङबिना सम्भव छैन, सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ ।
अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील ठाउँबाट सुन तस्करी हुनु शङ्कास्पद रहेको भन्दै अध्यक्ष ओलीले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टबाट सुन भित्रिन नसक्ने भनाइ राख्नुभयोे ।
उहाँले एमालेका जनप्रतिनिधिलाई गलत काम नगर्न, काम गर्दा आर्थिक रूपमा बेरूजु नआउने गरी काम गर्न सुझाउनुभयो ।  अध्यक्ष ओलीले पार्टीको मिसन–२०८४ लाई कसरी सफल बनाउने भन्नेमा ध्यान दिएर काम गर्न सबै तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभयो । लुम्बिनी प्रदेश संगठन कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको भेला तथा प्रशिक्षणमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पोडेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटव्युरो तथा केन्द्रीय सदस्यहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।