detail-img

जनप्रतिनिधिहरूलाई अध्यक्षको निर्देशनः ‘जनताको सेवक भएर काम गर्नूस्’

केपी शर्मा ओली, अध्यक्ष

सबैभन्दा पहिले यहाँहरू एउटा महासंग्राम पार गरेर, सफलता प्राप्त गरेर आउनु भएको छ, यहाँहरूको सफलताको प्रशंसा गर्न चाहन्छु । सफलताका लागि धेरै धेरै बधाई भन्न चाहन्छु र यहाँहरूको कार्यकाल अत्यन्तै सफल रहोस्, शुभकामना भन्न चाहन्छु ।

तपाईंहरूले पाँच वर्ष जनप्रतिनिधिका हिसाबले आआफ्ना स्थानीय तहमा काम गर्नुपर्ने छ । मेरो इच्छा छ, तपाईंहरूले पाँच वर्षको कार्यकाल पूरा गर्दा तपाईंहरूको हाइहाइ होस् । तपाईंहरूले आलोचना सुन्न नपरोस्, प्रशंसा सुन्ने अवस्था बनोस् । स्थानीय सरकार, प्रशासन कसरी सञ्चालन गर्नुपर्छ भन्ने नमूनाको रूपमा तपाईंहरूले आपूmलाई प्रस्तुत गर्न सक्नुस् । विकासका कामहरू कसरी अगाडि बढाउनुपर्छ, दृष्टिकोणसहित, योजनासहित र विकासका निम्ति साझा प्रयासहरू कसरी परिचालित गर्नुपर्छ भन्ने कुरामा तपाईंहरू दृष्टान्त हुन सक्नुहोस् । आ–आफ्ना ठाउँमा विकासका अभियन्ता हुन सक्नुस् । तपाईंहरू जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधाहरू उपलब्ध गराउन दृष्टान्तको रूपमा आउन सक्नुहोस् र जनताको सेवामा सदा तत्पर स्थितिमा रहन सक्नुहोस् । म यस अर्थमा शुभकामना दिइरहेको छु ।

तपाईंहरूका पालिकामा देखिनेगरी विकासका काम अगाडि बढुन् । कहाँ विकास भयो भन्ने स्थितिमा होइन, यस क्षेत्रमा यहाँनिर विकास भयो, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, खानेपानी, सञ्चार, सरसफाइ, वातावरण यस्ता अनेक क्षेत्र र पक्षमा तपाईंहरूले देखाइरहन नपरोस्, मान्छेहरूले आफैँ जता फर्किए पनि विकास देख्ने स्थिति बनोस् । ताकि तपाईंहरू पाँच वर्षमा अत्यन्तै सक्षम, अनुभवी जनप्रतिनिधिको रूपमा स्थापित हुन सक्नुहोस् ।

मैले सुरुमा भनेँ–तपाईंहरू एउटा महासंग्रामबाट आउनु भएको छ । नेपालमा कम्युनिष्ट आन्दोलन सिध्याउन, बामपन्थी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन सिध्याउन, विकासउन्मुख अभियानलाई रोक्न, स्वच्छताका हाम्रा प्रयास र अभियानलाई रोक्न ठूलो षडयन्त्र भएको थियो । गएका डेढ दुई वर्ष हामी चरम ढङ्गले ती जनविरोधी, देशविरोधी, अग्रगमन विरोधी, विकास विरोधी, स्थिरता र स्थायित्व विरोधी प्रयासहरूका विरुद्ध जुध्यौं । स्थिरता र स्थायित्वको पक्षको प्रतिनिधित्व गर्ने र विकास, सामाजिक जागरण, परिवर्तन र रूपान्तरणको अभियन्ता अग्रज पार्टी अर्थात् नेकपा एमालेको देशभक्तिको अभियान, राष्ट्रिय हितहरूका निम्ति सङ्घर्षको अभियान, विकासको अभियान, सुशासनको अभियान र यसले प्राप्त गरेका सफलताले दिएको स्थिरता र स्थायित्व त्यसलाई भत्काएर नेपालमा एउटा अस्थिरताको फेरि दुष्चक्र सुरु गर्ने र विकासको गति र अभियानलाई रोक्ने गम्भीर षडयन्त्रहरू र ती षडयन्त्रहरूलाई सफल बनाउने प्रयासहरू अगाडि बढे, बढाइए । त्यसका विरुद्ध हामी दृढताका साथ लड्यौं ।

हाम्रो पार्टी नै कब्जा गर्ने, सिध्याउने र प्रतिक्रियावादी वर्ग र शक्तिहरूको हितमा लगाउने प्रयास भए । त्यस्ता प्रयास हाम्रो पार्टीभित्रसम्म हात घुसाउन आइपुगे । पार्टीभित्रैबाट सङ्कट पैदा गरियो । बाह्य शक्ति र पार्टीभित्रका शक्तिहरू मिलेर नेपालको बामपन्थी, लोकतान्त्रिक, देशभक्तिपूर्ण आन्दोलन, नेपालको विकासको अभियानको अग्रणी मूल संस्था नेकपा एमालेलाई कमजोर पर्ने कोसिस गरियो । त्यस कोसिसका विरुद्ध हामी लड्यौं । एक ढङ्गले भन्ने हो भने– सिध्याउन खोजेको पार्टी । अवस्था कहाँसम्म पुगेको थियो भने– पार्टी अध्यक्षलाई पार्टी अध्यक्षबाट मात्रै होइन, साधारण सदस्य समेतबाट पनि निष्काशन गर्ने, कहाँसम्मको दुराशय ? दुराशयको सिमाना नै रहेनछ । त्यस दुराशयले चाल्ने आपराधिक क्रियाकलापको कुनै सीमा नै रहेनछ । पार्टी अध्यक्षविरुद्ध झुटा, निराधार आरोप र लाञ्छनाहरूको एउटा पोथा तयार गर्ने र त्यो वितरण गर्ने । चरित्र हत्या गर्ने, बदनाम गर्ने, विस्थापित गर्ने । नेतृत्व नै विस्थापित गरेपछि त्यस्तो नेतृत्वको मातहतमा भएको पार्टी के हुन्छ ? त्यो स्वतः विस्थापित हुन्छ । यस्ता प्रयासहरू भए र ती प्रयासहरूसँग हामी जीवन मरणको लडाइँ लड्यौं ।

हाम्रो पार्टीले जीवन मरणको लडाइँ लड्यो र आज मैले तपाईंहरूलाई महासंग्राममा जितेर आउनु भएको छ भन्नुको अर्थ नेकपा एमालेले लडेको जीवन मरणको लडाइँ, यो सामान्य लडाइँ थिएन । हाम्रो अस्तित्व मेटाउन खोजेका थिए । अस्तित्व मेटाउन खोजेका ठाउँमा हामी आज पनि देशको प्रमुख राजनीतिक पार्टी हौं, प्रमुख राजनीतिक शक्ति हौं । एमाले बाहेक अरुसँग त राष्ट्र निर्माणको सम्बन्धमा कुनै भिजन नै छैन । विकासको सम्बन्धमा कुनै भिजन नै छैन । सामाजिक परिवर्तन, रूपान्तरण, त्यसका निम्ति जागरणको कुनै भिजन छैन । योजना छैन, नीति छैन । त्यस स्थितिमा नेकपा एमाले यस सङ्घर्षबाट अगाडि बढ्यो र यस सन्दर्भमा एउटा शक्ति परीक्षणको समय आयो । सिध्याइन्छ भनेको एमाले एक्लै एकातिर र अरु सबै शक्ति एकतिर भएर स्थानीय तहको निर्वाचनको रूपमा एउटा महासंग्राम आयो ।

निर्वाचन जनमतको बीचमा हुनुपर्दथ्यो । कति जनताले कसलाई मत दिन्छन्, कति मत कसले प्राप्त गर्छ भन्ने सन्दर्भमा । तर, यहाँ जनताको अभिमतको मात्रै कुरा भएन, कुप्रचार, षडयन्त्र, अनेक प्रकारका जालझेलका हत्कण्डाहरू अपनाइए । त्यतिले नपुगेर अपहरण गर्ने, हत्या गर्ने, कुट्ने पिट्ने, अंगभंग गर्ने, मान्छे मार्ने, बुथ कब्जा गर्ने यस्ता अनेक आपराधिक क्रियाकलापहरू राज्यको योजनामा भए । राज्य शक्ति र सत्ताको दुरूपयोग भयो । कहाँ कहाँबाट जम्मा गरिएको हो, कहाँबाट आएको हो थाहा छैन तर पैसाको व्यापक वितरण भयो । त्यसोहुँदा हामीले चुनाव मात्रै लडेनौं, एउटा अधिनायकवादका विरुद्ध लड्नु प¥यो । लोकतन्त्रको नाम जप्ने तर प्रशासनिक हिसाबले भन्ने हो भन्ने अधिनायकवादी, तानाशाही, दमनकारी शासनका आँडमा सम्पूर्ण प्रतिक्रियावादी शक्तिहरू एकजुट भएर एमालेका विरुद्ध लागेको स्थिति थियो । तपाईंहरू प्रशासन, प्रहरीको संरक्षणमा पैसा बाँडिएको स्थिति, बुथ कब्जा गरिएको स्थिति, मत पेटिका फेरिएको स्थिति, सदरलाई बदर, बदरलाई सदर गरिएको स्थिति यी सबैको सामना गरेर, चुनावका नाममा गरिएका अस्वस्थ, अलोकतान्त्रिक सत्ताको दुरूपयोग गर्ने अवाञ्छित गतिविधिहरूसँग पनि लडेर विजयी भएर आउनु भएको छ ।

संक्षिप्तमा भन्दा तपाईंहरू लडेर, जितेर आउनु भएको महासंग्राम लोकतान्त्रिक अभ्यास मात्रै थिएन । लोकतान्त्रिक अभ्यासको क्रममा चरम अलोकतान्त्रिक तानाशाही, भ्रष्ट, नैतिकताका सीमाहरू पार गरेका गतिविधि देखा परे ।

विश्वमा कहीँ नसुनिएको बजेट बनाउने अधिकारीहरू राखेर होइन, बाहिरका अनधिकृत मान्छे राखेर बजेट बनाइन्छ, दुनियाँमा कहीँ कल्पना गरिँदैन । बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिव आदिले तयार गर्छन् । त्यस ठाउँमा अनधिकृत मान्छेहरू ल्याएर करका दर सेटिङमा तोकिन्छ, व्यापारीसँग सेटिङ मिलाएर करका दर तोकिन्छ, कमिशन खाएर करका दर तोकिन्छ । यस्तो त कुनै राज्य वा कुनै प्रणालीमा पनि कल्पना गर्न सकिँदैन । यो त पञ्चायत कालमा पनि हुँदैन्थ्यो । बजेट पेश गर्दा एउटा चलन हुन्छ, बजेट प्रस्तुत गर्न अगाडि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक राख्छ, त्यहाँ बजेटको ब्रिफिङ गरिन्छ, करका दरको होइन, करका दरहरू मोटामोटी इन्डिकेशन गरिन्छ र त्यसलाई पास भएको मानिन्छ । गोपनीयता नखुलोस् भनेर मन्त्रिपरिषद् बैठकबाट संसदमा जाँदा प्रधानमन्त्री अघि अघि र सम्पूर्ण मन्त्रीहरूसँगै जाने गरिन्छ । बजेटको ब्रिफकेशलाई रातो रिबनले बाँधेको हुन्छ । यो गोप्य छ, कतै खुलेको छैन र सम्मानित संसदमा मात्रै खोलिन्छ, संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नु हुन्छ भने पछि रोष्टममा गएर मात्रै खोलिन्छ । रोष्टममा गएर रिबन काटेर बल्ल सुटकेश खोलिन्छ र बजेट प्रस्तुत गरिन्छ । तर यहाँ बनाउँदै गर्दा नै व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइन्छ । बनाउनुभन्दा अघि कमिशन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको ?

यस्तो अवस्थामा तपाईंहरूले चुनावको सामना गर्नु भयो । त्यो चुनाव जित्नु भयो । यो चानचुने कुरा होइन । यति घेराबन्दीका बीचमा, यति राज्यशक्ति र अन्य शक्तिको दुरूपयोगका बीचमा एमालेले यति धेरै संख्यामा सिटहरू जितेर आएको छ ।

हामीले एकसय भन्दा कम भोटले १९ वटा सिट हारेका छौं । मुस्ताङको एउटा पालिकामा दुई भोटले हा¥यौं । १८ वटा पालिकामा हामीले दुईसय भन्दा कम भोटले हारेका छौं । १५ वटा पालिका हामीले तीनसयभन्दा कम भोटले हारेका छौं । अरु १३ वटा पालिका चारसय भोट भन्दा कमले हारेका छौं । अरु १५ वटा पालिका पाँचसय भोट भन्दा कमले हारेका छौं । अथवा ती पालिकामा अढाई सय भोट हामीले अरू थप्न सकेकोे भए थप ८८ सिटमा हाम्रो विजय हुन्थ्यो । थप अढाई सय भोट किन आएन भन्ने म धेरै भन्न चाहन्नँ । हाम्रा आफ्नै कमजोरीका कारणले धेरै ठाउँमा त्योभन्दा बढी भोट आएका छैनन् । त्यति मात्रै सच्चिने हो भने हामी ८८ सिट जित्थ्यौं । ८८ सिट जित्दा काँग्रेसको भागमा कटिने सिट प¥यो भने ३२९ सिट काँग्रेसले जितेको छ, त्यसमा ५९ सिट काँग्रेसको भागमा हाल्दिऔं भने २७० मा झ¥यो काँग्रेस । हामी ८८ थपिँदा २९३ मा पुग्थ्यौं । २९४ पहिले जितेका थियौं । अहिले पनि हामी २९३ सिटमा कमसेकम पुग्थ्यौं । १९ सिट माओवादीको भागमा हाल्दिने हो भने माओवादी ९९ मा झर्दथ्यो । अथवा जित्यौं भनेर नगरा जति पिटे पनि नेकपा एमालेको स्थिति लोकप्रिय भोटमा अहिले पनि सबै पार्टीभन्दा माथि छ । हाम्रो स्थिति कमजोर छैन ।

मैले २०१५ सालको चुनाव हेरेको छु, त्यहाँदेखि अहिलेसम्म ६४ वर्षदेखि मैले चुनाव हेरिराखेको छु । अहिले जस्तो राज्यसत्ताको दुरूपयोग, यति अनैतिक, यति भ्रष्टता, यति अलोकतान्त्रिक, यस्तो तमासा मैले कुनै चुनावमा कहिल्यै देखिनँ ।

हामीले पञ्चायत कालमा जनपक्षीय उम्मेदवार लडाएर हे¥यौं । त्यहाँ पनि यो हद भएन । एमालेले निश्चित जित्यो भने पछि छोडेर हिँडेको छ । कुनै प्रकारको अशान्ति भएन, त्यहाँ मत गणना नगर्ने, फेरि चुनाव गर्ने भएन । एउटा बुथमा समस्या होला तर सिंगै पालिकाको निर्वाचन गर्नुपर्ने भएन । अहिले एउटा सिटका लागि सम्पूर्ण राज्य संयन्त्रको दुरूपयोग भएको छ । स्वतन्त्र, स्वच्छ निर्वाचन हुँदा परिणाम एमालेको पक्षमा जान्छ भन्ने उनीहरूलाई लाग्यो भने एमालेको पक्षमा कुनै हालतमा जान नदिन सम्पूर्ण संयन्त्र दुरूपयोग गरेर भए पनि जित्ने गठबन्धनका साथीहरूको योजना छ । उनीहरू धाँधलीवाज, लोकतन्त्र विरोधी तत्वहरू हुन् ।

हामी निराश हुनुपर्ने स्थिति छैन । अहिले पनि हाम्रो भित्र कतिपयले भन्छन्, सार्वजनिक हिसाबले किन भनेको भनेर । कुनै गोप्य कुरा होइन । भोट गन्दा फुत्तफुक्त निस्किराखेको छ, अनि के गोप्य राख्ने ? तसर्थ कतिपय त्यस्ता कुराहरू परे होलान्, कतिपय आफ्नै खालका कुराहरू परे होलान्, कतिपय उम्मेदवार चयनमा उपयुक्तता भएन होला, अनेक प्रतिकूलता र अनेक नकारात्मकता त्यो सबैको योगमा हामीले जित्यौ । विरोधीहरूले मात्रै हराउन सक्ने थिएनन् । हामीलाई हराउन हाम्रा विरोधीले सक्दैनन् । हाम्रा विरोधीले केही गर्न सक्दैनथे, हामी दुई तिहाइमा थियौं तर हाम्रै भित्रबाट सकुनीहरू निस्किए । हाम्रै भित्रबाट मिर्जाफर निस्किए, मिरकासिम निस्किए । मिर्जाफर भनेको बंगालमा एउटा सेनापति थियो । अंग्रेज आयो, उसले बंगाल कब्जा गर्न सक्ने थिएन तर मिर्जाफर भन्ने बंगालको सेनापतिलाई आपूmतिर(अंग्रेज) मिलाएर कब्जा गर्ने बाटो समात्यो । उ अलिक एक्सपोज हुन थालेपछि उसलाई अपदस्थ गरेर फेरि उसको ज्वाइँ मिरकासिम भन्नेलाई ल्याइयो र मिरकासिमले अंग्रेजसँग मिलेर बंगाल कब्जा गराइदियो । उसलाई नबाव हुन्छौ भन्दिएका थिए, पछि नबाव लोप्पा खुवाइदिए । विश्वासघातीहरूलाई जसले पनि त्यस्तै व्यवहारबाट जवाफ दिन्छ ।

म हाम्रा जनप्रतिनिधि साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरू पार्टीको कार्यकर्ता हो, पार्टीले ठूलो अपेक्षाका साथ उम्मेदवार बनाएको हो । तपाईंहरूको काम मार्फत अब जनताले पार्टी हेर्छन् । तपाईंहरू मार्पmत पार्टी हेर्ने, पार्टी बुझ्ने, पार्टीको कार्यक्षमता, विकासका योजना बनाउने क्षमता कस्तो छ ? परिचालनको क्षमता कस्तो छ ? यो सबै कुरा जनताले तपाईंहरू मार्फत हेर्छन् । तसर्थ तपाईंहरूले पार्टीको निष्ठावान् कार्यकर्ताको रूपमा काम गर्नुपर्छ । प्रतिकूल हुँदा पनि निष्ठा, अप्ठ्यारो प¥यो भने पनि निष्ठा, सजिलोमा पनि निष्ठा, पार्टीप्रतिको निष्ठा, आन्दोलन प्रतिको निष्ठा धेरै महत्वपूर्ण कुरा हो ।

मैले भन्ने गरेको छु–निष्ठा, इमान, भएन भने, मति ठीक ठाउँमा भएन भने मान्छेमा केही पनि कुरा छैन भन्ने ठाने हुन्छ । मैले भन्ने गर्छु साधारणतया मान्छेभित्र ज्ञानको पक्ष हुन्छ, बुद्धिको पक्ष हुन्छ र त्यस्तै गरेर मतिको पक्ष हुन्छ । ज्ञान भनेको तपाईंले प्लेन किन्नु भयो भने पाइलट किन्न पाउनु हुन्छ । तपाईंले चलाउन जान्नु पर्छ भन्ने छैन । तपाईंले गाडी किन्नु भयो भने ड्राइभर, तपाईंले पढेको छैन, सिकेको छैन तर तपाईंले पाउनु हुन्छ । तपाईंलाई घर बनाउन प¥यो भने इन्जिनियर पाउनु हुन्छ । तपाईंलाई विसञ्चो भयो भने तपाईंले डाक्टर पाउनु हुन्छ, अस्पताल पाउनु हुन्छ । तपाईंले औषधि बनाउन जान्नु पर्दैन, औषधि पाउनु हुन्छ । धेरै कुराहरू अहिले त राइटर्स, घोष्ट राइटर्स इत्यादि तपाईंले भन्दिए हुन्छ, उसले किताब लेखेर चिटिक्क पार्दिन्छ । कुरा तपाईंको कला उसको त्यहाँ मिसाउँछ ।

यो मति भन्ने कुरा आफ्नै हुनुपर्ने जस्तो लाग्यो मलाई । एउटा–मति किन्न पाइँदैन, सापटी पनि पाइँदैन । अर्को गीत गाउने गलो छैन भने पनि सापटी लिन्छु भन्ने पनि हुँदो रहेनछ । गलो किन्न पनि पाइँदो रहेनछ । यो मैले प्रसंगवश जोडेको मात्रै हुँ । मान्छेको मति ठीक हुनुपर्छ, मान्छेको चरित्र, आचरण, व्यक्तित्व, अपनत्व, आफ्नोपन, निजत्व, स्वत्व हामी जे भन्छौं, त्यो चिज चाहीँ मतिले निर्धारण गर्दछ, आचरणले निर्धारण गर्दछ र उसका सम्पूर्ण विचारहरू, तरिकाहरू, भिजन, योजना उसको मतिबाट निश्रित हुन्छन् । त्यहाँबाट निस्किन्छन् । त्यसकारण बुद्धिभन्दा ठूलो मति हो । ज्ञानभन्दा ठूलो मति हो । त्यसकारण पहिलो कुरा मति हामीले ठीक ठाउँमा राख्नु प¥यो, पाँचदलीय गठबन्धनकारी र हाम्रा बीचमा, एमाले सुमतिवाला, ती कुमतिवाला फरक नै त्यही हो ।

नेकपा एमालेका कार्यकर्ताहरूमा पहिलो कुरा–पार्टीप्रति, आन्दोलनप्रति, देशप्रति, जनताप्रति निष्ठा हुनुप¥यो नि । पार्टीप्रति निष्ठा छैन भने आपूmसँग केही पनि छैन । बोलेका कुराको ठेगान छैन भने केही पनि छैन । आफ्ना भनिएका प्रतिबद्धताहरूको ठेगान छैन भने केही पनि छैन । सबै नक्कली कुरा हो । त्यस्तो मान्छे कसरी सफल हुन्छ ? त्यसकारण सफल हुन छ भने तपाईंका कुरामा मान्छेले विश्वास गरोस् । तपाईंको मति ठीक छ, तपाईं भ्रष्ट हुनुहुन्न, तपाईं ढाँट हुनुहुन्न, तपाईं छली कुरा गर्नुहुन्न, तपाईं अनेक प्रकारका षडयन्त्र गरेर मान्छेलाई फसाउने, दुःख दिने गर्नु हुन्न भने मात्र मान्छेले विश्वास गर्छन् ।

त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईंहरूलाई मात्रै होइन, म सबै एमाले कार्यकर्तालाई आग्रह गर्न चाहन्छु कि पार्टीप्रतिको निष्ठा हुनुपर्छ । देशप्रति म निष्ठावान नै छु, यसपटक म मेयरमा भोट नदिएर विरोधीलाई जिताइदिएको त हो नि ! भन्ने कुरा हुन्छ ? पार्टीप्रति त निष्ठावान नै छु, उम्मेदवारलाई भोट नदिएको त हो भन्ने कुरा हुन्छ ? अर्कालाई जिताउने अनि विरोधीले मोर्चा कसेर ढाड सेकेको सेक्यै छ, अनि पार्टीप्रति त म निष्ठावान नै छु नि भन्नु नेकपा एमालेका कार्यकर्ताका लागि शरमको विषय हो । म तमाम साथीहरूलाई पार्टीप्रति, आन्दोलनप्रति निष्ठासाथ प्रस्तुत हुन आग्रह गर्दछु ।

अहिले पनि तपाईंहरूले देखिराख्नुभएको छ, कतिपय व्यक्तिहरू पार्टीमा बसेका छन् । पार्टीले दिएका पद, ओहदा, सुविधाहरू उपभोग गरिरहेका छन्, पार्टीको त्यो हैसियतको प्रयोग गरिराखेका छन् । पार्टीको कसरी अपमान, बेइज्जत र विरोध हुन्छ, हो त्यही काम पनि गरिराखेका छन् । पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ, विस्थापित गर्न सकिन्छ, अलोकप्रिय बनाउन सकिन्छ, ती कामहरू पार्टीभित्र बसेर गरिराखेका छन् । समयक्रममा समयले त्यसको हिसाब किताब गर्नेछ, त्यसमा धेरै चिन्ता नगरौं ।

म भनिराखेको थिएँ– हिजो तपाईं स्वतन्त्र नागरिक हुनुहुन्थ्यो । आज स्वतन्त्र नागरिक होइन, तपाईंको काँधमा धेरै जनताको मत छ । सुनिता डंगोलले ६८ हजार मत प्राप्त गर्नुभएको छ र ६८ हजार मान्छेको विश्वास काँधमा बोक्नु भएको छ । डग्मगाउन दिनु हुन्न । मञ्जु गुरुङले ६० हजार मत बोक्नु भएको छ । त्यत्रो महासंग्रामका बीचमा यति धेरै मत प्राप्त गरेर तपाईंहरू विजयी हुनुभएको छ । त्यो मत भनेको विश्वास हो, अभिभारा हो । त्यो विश्वास र अभिभारालाई तपाईंहरूले तलमाथि पर्न दिनु हुन्न । त्यस्तै, अरू साथीहरूले पनि ।

अब तपाईंहरूका दुईवटा उत्तरदायित्व छन् । एउटा तपाईंहरूलाई उठाउने र जिताउनका लागि क्रियाशील हुने पार्टीप्रति, अर्को तपाईंहरूलाई मतदानद्वारा विजयी बनाउने जनताप्रति । तपाईंहरूका काँधमा पार्टीले सुम्पिएको अभिभारा र जनताले सुम्पिएको अभिभारा छ । तपाईंहरू अब हिजो झैं स्वतन्त्र हुनुहुन्न । तपाईंहरूको आचरण, क्रियाकलाप, तपाईं कहाँ जानु हुन्छ ? कहाँ बस्नु हुन्छ ? कहाँ के गर्नु हुन्छ ? कसरी बोल्नु हुन्छ ? कुन ठाउँमा किन जानु भयो ? जनताले पाइलैपिच्छे हेरिराखेको हुन्छ । तपाईंहरूको जाँच जनताले तपाईंको बोलाइमा हेरिराखेको हुन्छ । हिजोसम्म मसिनै बोल्ने मान्छे, चुनावमा भोट माग्न आउँदा निहुरिएर नमस्कार गर्ने मान्छे, अहिले नमस्कार गर्दा मुन्टो फर्काएर हिँड्छ भने उ जनताको जाँचमा फेल हुन्छ । जनतासँग जनप्रतिनिधि झर्किएर के ? किन आएको ? के प¥यो ? हँ ? के ? ग¥यो भने फेल होइन्छ । जनप्रतिनिधि जनताको सेवक हो भन्ने कुरा बुझ्नु पर्छ । स्वतन्त्र नागरिक हुँदा जस्तो फुक्का होइन, अब बढी शालिन, बढी बिनम्र हुनुपर्छ । हिजो तपाईंले भेट्दा कसैलाई वास्ता नगरे पनि हुन्थ्यो, आज सन्चै हुनुहुन्छ ? जनताका घरपरिवारमा के कस्तो छ ? भनेर रुचि राख्नु पर्छ । अप्ठ्यारो छ भने सक्दो सहयोग पु¥याउनुपर्छ । तपाईं जनताको सेवा गर्छु भनेर, प्रतिबद्धता, कबुल गरेर भोट माग्न जानु भएको थियो । तपाईंको पार्टीले राष्ट्रियस्तरमा जे नीतिका साथ, जुन व्यवहारका साथ काम गर्छु भनेको थियो, त्यस हिसाबले तपाईंहरूले काम गर्न जरुरी छ । अब ४÷५ महिनापछि देशको भविष्य निर्धारण गर्ने अर्को महासंग्राम आयोजना हुँदैछ । तपाईंहरूले गर्ने कामबाट त्यस महासंग्रामलाई सफलतामा पु¥याउन योगदान गर्नुपर्छ ।

केन्द्रीय सरकारका दृष्टिकोणहरु, नीतिहरू, कार्यक्रमहरू, कार्ययोजनाहरू कसरी प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने भन्ने कुरा अस्तिको निर्वाचनको परिणामले गर्ने हो । प्रदेश सरकारका योजनाहरूको कार्यान्वयन कसरी गर्ने स्थानीय सरकारले गर्ने हो । तर, अब बन्ने सरकारहरूले धेरै कुराको निर्धारण गर्छन् । त्यसमा पनि केन्द्रीय सरकारले सबैभन्दा महत्वपूर्ण कुराको निर्धारण गर्छ, देशको भविष्य कता जाने भनेर । अहिले तपाईंहरू सुनिराख्नु भएको छ । यहाँ बाह्य सेना उपस्थिति गराउने खालका सम्झौता आदि इत्यादि गर्न खोजिएको छ भनेर । त्यसका सम्बन्धमा हाम्रो पार्टीले बोलिराखेको छ, हाम्रा जनसंगठनहरू मैदानमा उत्रिराखेका छन् । हाम्रा सांसदहरू संसदमा प्रश्न उठाइराखेका छन् र त्यस्ता कुराहरूको विरोध गरिराखेका छन् । जनतामा एकखालको यससम्बन्धी जागरण आइरहेको छ र हाम्रो पार्टीले यस्ता कुराहरूको अगुवाइ गरिराखेको छ, नेतृत्व लिइराखेको छ कि देशहितका विरुद्ध कुनै पनि काम कारबाही, क्रियाकलापहरू हुन नपाउन् भन्ने कुरामा हामी सजग छौं, ध्यान दिइराखेका छौं । यसर्थ अब आउँदो निर्वाचन जो महासंग्रामको रूपमा हाम्रो अगाडि उपस्थित हुँदैछ, त्यसको तयारीमा हामी जानेछौं ।

हामीले पार्टीलाई षडयन्त्रपूर्वक धुलोपिठो पारिसकेको अवस्थाबाट, पार्टी अरुलाई खोस्न नदिएर, आन्दोलनलाई जीवित राखेर, जीवित मात्रै होइन, हरेक हिसाबले देशको प्रमुख पार्टीको रूपमा स्थापित गरेका छौं । स्थानीय तहमा निर्वाचितहरूको संख्यामा हामी दोस्रो भयौं । हामीलाई हरायौं भनेर खुशी हुनेहरू कसैको प्रतिशतमै आउँदैन, कसैको प्रतिशतमा टेक्छ, कोही बढी भए हाम्रो आधा होलान् । अनि हाम्रो आधा हुनेहरूले एमाले हा¥यो भनेर हल्ला गर्ने !

त्यो यस्तो खालको हल्ला चलाइएको छ कि एमाले यो निर्वाचनमा सर्वनाश भयो जस्तो । सबैभन्दा बढी भोट त ल्याएकै छ । अहिले पनि सिटकै हिसाबले दोस्रो भएकै छ । अघि मैले भनेँ–पाँचसयभन्दा कम भोटले त ८८ सिट हारेका छौं । त्यसलाई अलिकति मात्रै सच्याउँदा हामी मजबुत स्थितिमा हुन्छौं । तसर्थ, अब तपाईंहरूका काममा पार्टीका नीतिहरू समृद्ध नेपाल सुखी नेपाली बनाउने कुराको कार्यान्वयन गर्ने आधारभूत निकायहरू, आधारभूत तह, आधारभूत संस्था र संरचनाहरू, आधारभूत गतिविधि हुने ठाउँ नै स्थानीय तहहरू हुन् । यहीँ खटेका जनप्रतिनिधिले सबैभन्दा आधारभूत तहमा जनताको सेवा गर्ने, जनताका हक, अधिकार, अवसर उपलब्ध गराउने कामदेखि लिएर उनीहरूको मन जित्नेसम्मको काम गर्छन् । राष्ट्रिय रूपमा पार्टीले के ग¥यो ? प्रादेशिक रूपमा पार्टीले के ग¥यो ? र स्थानीय तहमा पार्टीले के ग¥यो ? ती कुराहरू लिएर जाने आधारभूत तह भनेको स्थानीय तह हो ।

यत्रो काम हामीले गरेका छौं, सिन्को नभाँच्नेहरूले हामीले भन्दा बढी सिट ल्याएका छन् । प्रचारमा यसरी पछाडि प¥यौं । हामीले हाम्रा काम जनतासम्म पु¥याएनौं । काम गरेकै छौं, देखेकै छन् भन्ने ठान्यौं । जनतालाई देख्नेतिर होइन, यतायता भनेर अर्कोतिर मान्छेहरूले गुमराहमा पार्ने काम गरे । अब हामी यस्ता कुराहरूबाट जोगिएर जानु पर्दछ ।

तपाईंहरूलाई मैले भनेका कुराहरूले राजनीतिक ओरियन्टेसन अवस्था, परिस्थितिको आँकलन, हाम्रो अठोटको आकलन भयो भन्ने मैले ठानेको छु । प्रशिक्षणका कुराहरू भोलि व्यवहारमा काम लाग्न सक्छन् भन्ने कुरा थाहा पाउन जरुरी छ । तपाईंहरू एउटै अवस्थाका हुनुहुन्न । विभिन्न ढङ्गले तपाईंहरूले काम गर्नुपर्छ । प्रशिक्षणमा तपाईंहरूलाई साथीहरूले बताउनुहुन्छ । आफ्नो नेतृत्व आफ्नो बहुमत भएका ठाउँहरू एक खालको छ, त्यहाँ काम गर्ने परिस्थिति हुन्छ, त्यहाँ काम गर्ने एउटा तरिका हुन्छ । आफ्नो नेतृत्व तर आपूm अल्पमतमा, त्यहाँको परिस्थिति अर्को हुन्छ र त्यहाँ काम गर्ने तरिका अर्कै हुन्छ । आफ्नो नेतृत्व छैन तर आपूm बहुमतमा छ, काम गर्ने अर्कौ तरिका हुन्छ, अर्को शैली हुन्छ, अर्को ढङ्गले त्यहाँ काम गर्नुपर्ने हुन्छ । नेतृत्व पनि छैन, बहुमत पनि छैन । त्यस्ता ठाउँहरूमा काम गर्ने अर्को तरिका हुन्छ । यो चार स्थितिमा हामीले प्रभावकारी काम गर्नुपर्छ ।

नेकपा (एमाले) हो, जस्तो सुकै स्थितिमा पनि हामी काम त गर्न गएका छौं, काम गर्छौं । हाम्रो प्रभावकारिता देखिनेगरी काम गर्छौं ।

म फेरि एकपटक सबै साथीहरूलाई बधाई भन्न चाहन्छु । फेरि शुभकामना भन्न चाहन्छु । प्रशिक्षण तपाईंहरूका लागि उपयोगी हुनेछ, आगामी दिनमा मार्गदर्शन गर्न, तपाईंहरूको बजेट तयार गर्न, बजेट प्रस्तुत गर्ने कुरामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन बजेट उपयुक्त ढङ्गले तयार गर्न, विनियोजन गर्न, त्यसका स्रोतहरू र त्यसका खर्चसम्बन्धी पक्ष, सबै पक्षमा प्रभावकारी बनाउन र अरु सबै कामहरूका लागि पनि तपाईंहरूले यस प्रशिक्षणबाट लाभ लिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । यही विश्वासका साथ आफ्नो भनाइ टुङ्ग्याउँछु । धन्यवाद ।

(नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २ असार, २०७९ मा स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई गर्नुभएको सम्बोधनको सम्पादित अंश)