detail-img

भ्रमपूर्ण सामग्रीलाई आधार मानी धारणा नबनाउन आग्रह 

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य रघुजी पन्तले शेर्पा समुदायका सम्बन्धमा आफ्नो भनाइलाई भ्रम सिर्जना गर्ने गलत उद्देश्यका साथ कसैले सामाजिक सञ्जाल (फेसबुक) मा तोडमोड गरी प्रस्तुत गरेको र यसैका आधारमा नेपाल शेर्पा संघले प्रेस नोट जारी गरेकोमा आश्चर्यका साथै दुःख व्यक्त गर्नुभएको छ । 
आफ्नो २०७८ सालमा बोलेको भाषण गलत अर्थ लाग्ने र विवाद सिर्जना गर्ने गरी माओवादी कार्यकर्ताले जथाभावी काटछाँट गरी फेसबुक र टिकटकमा राखेको उल्लेख गर्दै नेता पन्तले नेपाल शेर्पा संघलाई पत्र लेखी सामाजिक सञ्जालमा आएका अधुरा र भ्रमपूर्ण अभिव्यक्तिलाई आधार मानेर आवेश र आवेगमा कसैलाई पनि गाली गर्दा अन्याय हुने वताउनुभएको छ । 
सांसद पन्तले आफूले नेपालमा शेर्पाहरूको बसोवास पाँच सात सयबर्ष अघिदेखि भएको होला भनी आफ्नो अध्ययनका आधारमा बोलेको कुरा काटछाँट गरी पाँच सात बर्ष बनाइएको उल्लेख गर्दै सम्पूर्ण भनाइ नसुनी, सम्पूर्ण कुरा नपढी र भाषणको सार नबुझी फेसबुकमा आएकै भरमा कुनै पनि जिम्मेवार संगठनले धारणा बनाउन नहुने वताउनुभएको छ । 
अचेल फेसबुकमा मान्छेले बोलेका कुरालाई बङ्ग्याएर राख्ने, बोलेका कुरालाई जथाभावी काटछाँट गर्ने र जथाभावी गाली गर्ने चलन बढ्दो रहेको उल्लेख गर्दै द्वन्द्व उत्पन्न गराउने गलत कार्यको सबैले निन्दा गर्नुपर्ने उहाँको भनाइ छ ।  
सांसद पन्तले आफू जीवनभर जातीय असमानताविरुद्ध र जातीय समानताका पक्षमा लड्दै आएको उल्लेख गर्दै विवाद र भ्रम सिर्जना गर्नका लागि षडयन्त्र र बदमासीपूर्ण रूपमा अपलोड गरिएको सामग्रीका कारण उत्पन्न असहज परिस्थितिबारे स्पष्ट हुन शेर्पा समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले आफ्नो भाषण गलत अर्थ लाग्ने गरी काटछाँट गरी फेसबुकमा राख्ने विरुद्ध आवश्यक पर्दा कानुनी कारबाहीमा जाने स्पष्ट गर्नुभएको छ ।