detail-img

पार्टीमा कसैको गुट छैनः सचिव अर्याल

रुपन्देही । नेकपा (एमाले)की सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीभित्र कुनै नेताको नाममा गुट बनाउन सम्भव नभएको बताउँदै लुम्बिनी प्रदेशमा भएका चर्चा सत्य नभएको वताउनुभएको छ । 
रुपन्देहीमा सोमबार स्थानीय सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा अर्यालले नेताहरू स्वयंले कुनै गुट नबनाएको तर केही व्यक्तिले त्यसप्रकारको हल्ला चलाएको आधारमा सञ्चारमाध्यमले त्यसलाई प्राथमिकता दिन आवश्यक नहुने बताउनुभयो ।
सचिव अर्यालले भन्नुभयो– म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन, श्रद्धेय अध्यक्ष, उपाध्यक्ष, महासचिव कसैले पार्टी हित विपरीत गुट बनाउने कुरा असम्भव हो । तल्लो तहमा कोही कसैका इच्छा, आकाङ्क्षा र स्वार्थ होलान, त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने गलत काम गर्नु हुँदैन, त्यो हुनै सक्दैन ।
एमालेले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्न लागेको विषयमा नेतृ अर्यालले रुपन्देहीमा रहेका विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तरसंवाद गर्नुभएको हो ।  
शनिबार लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहबाट प्रतिनिधि छनोट भएका छन् । 
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले पहिलो अधिवेशनबाट २०५ जनाको प्रदेश कमिटीको चयन गर्दैछ । प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला पाँचजनाका दरले ६० जना, सङ्घीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र पाँच जनाका दरले १३० जना र खुल्लाबाट पाँच पदाधिकारीसहित १५ जना रहने गरी २०५ जनाको नेतृत्व चयन गर्ने सचिव अर्यालले जानकारी गराउनुभयो ।
प्रतिनिधि छनोटमा पार्टी केन्द्रले गरेको निर्देशन अनुसार महिला ३० प्रतिशत, उत्पीडित जनजातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशत प्रतिनिधि छनोट भएर आएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताउनुभयो ।