detail-img

नेकपा एस निकट नाडेप कर्मचारी संगठन पेशागत महासंघ नेपालमा समाहित

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट नाडेप कर्मचारी संगठन (बैंक, बीमा, वित्तीय क्षेत्र कर्मचारी सङ्घ नेपाल) पेसागत महासंघ नेपालमा समाहित भएको छ ।
नेकपा एसको राष्ट्रिय परिषद् सदस्य र उपत्यका विशेष कमिटीका सदस्य समेत रहेका रामकुमार महतले सिङ्गो कमिटी नै नेकपा (एमाले)को जनसंगठन पेसागत महासंघ, नेपालमा समाहित गराउनुभएको छ । 
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाल लगायतका नेताहरूले नेकपा एस परित्याग गरी संगठनसहित नेकपा (एमाले)मा समाहित हुनुभएकाहरूलाई शुक्रबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा स्वागत गर्नुभयो ।


नेकपा (एमाले)को जनसंगठन पेशागत महासंघ, नेपालमा समाहित भएको नाडेपका ५६ जिल्ला र ८२ वटा शाखा रहेका छन् । नाडेपका नेता तथा एस निकट पेशागत महासंघका उपमहासचिव महतले आफ्नो नेतृत्वमा सो संगठनमा रहेका सवै कमिटी आजबाट नेकपा (एमाले)मा समाहित भएको वताउनुभयो । 
उहाँहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले जनताको पक्षमा उभिँदा एक्लै भए पनि उभिनुपर्ने बताउनुभयो । 
उहाँले नेकपा (एमाले) कार्यकर्ताको मात्र नभएर नेपाली जनताको पार्टी भएको र समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभयो ।
केही मानिसहरूले अहिले नेपालमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर कुप्रचार गरिरहेको वताउँदै अध्यक्ष ओलीले नेपालमा व्यवस्थासँगै अवस्थामा आमूल परिवर्तन भएको, महिलालाई प्रधानन्यायाधीशदेखि राष्ट्रपतिसम्म यही परिवर्तित व्यवस्थाले बनाएको प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले अहिले एकथरि मानिस आफू लम्पसार परेर भए पनि छिमेकीलाई खुसी पार्न लागेका कारण राष्ट्रिय हित र स्वाभिमान खतरामा परेको बताउनुभयो । 
प्रधानमन्त्रीले सडकमा जाने घोषणा गर्दै हिँडेको सन्दर्भमा अध्यक्ष ओलीले निर्णय गर्ने ठाउँमा आफैँ भएको व्यक्तिले सडक आन्दोलनको कुरा गर्नु अस्वाभाविक भएको वताउनुभयो ।
नक्कली भुटानी शरणार्थी, बालुवाटारको जग्गा र सुन तस्करी प्रकरणमा आफ्नै मान्छेहरू जोडिएपछि अहिले सरकार र गठबन्धनका मान्छेको भागाभाग भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले एमालेलाई आरोप लगाएका सबै घटनाको छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिनुभयो । 
नेपालको इतिहासमा यति भ्रष्ट सरकार अहिलेसम्म नबनेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले एमालेलाई सरकारमा जान हतारो नभएको स्पष्ट गर्दै बरबादीतर्फ गएको देश जोगाउने कुरामा भने सबै लाग्नुपर्ने वताउनुभयो ।