detail-img

‘राष्ट्रियताको रक्षा र समाजवादको आधार तयार गर्नेगरी काम गरेकै कारण एमालेविरूद्ध चौतर्फी आक्रमण’

काठमाडौैं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले राष्ट्रियताको रक्षा र समाजवाद उन्मुख काम अगाडि बढाएकै कारण पार्टी चौतर्फी घेराबन्दीमा परेको यथार्थ जनतालाई बुझाउनुपर्ने वताउनुभएको छ । 
उपत्यका विशेष प्रदेश कमिटीको आज बसेको प्रचार कार्ययोजना बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख गौतमले संविधान बमोजिम समाजवादका आधार तयार गर्ने गरी काम थालेकै कारण नेकपा (एमाले) र यसको नेतृत्वमाथि चौतर्फी हमला भएको वताउनुभयो । 
उहाँले पार्टी र यसको नेतृत्वविरुद्ध आक्रमण भइरहँदा यसका लाखौं कार्यकर्ता मुकदर्शक भएर नबस्न निर्देशन दिनुभयो । नेता गौतमले समसामयिक एजेण्डामा केन्द्रित भएर सबै नेताकार्यकर्ता बोल्ने र लेख्ने काममा लाग्नुपर्ने वताउनुभयो ।


बैठकमा पार्टी पोलिटव्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले प्रचार कार्ययोजना विशेष प्रदेश र अन्तर्गतका जिल्ला कमिटीबाट प्राथमिकताका साथ कार्यान्वयनमा लगिने बताउनुभयो ।
उहाँले युवा र किशोर समूहलाई पार्टीका नीति, विचार कामका आधारमा जोड्नका लागि आधुनिक सञ्चारका  विभिन्न माध्यमहरूको प्रयोगमा जोड दिनुभयो । 
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले प्रचार कार्ययोजना कार्यान्वयनका लागि सबै जिल्ला कमिटीका प्रचार विभागलाई व्यवस्थित गरेर अगाडि बढाइने छ भन्नुभयो । 
बैठकमा नेकपा (एमाले) केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले केन्द्रको प्रचार कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । सचिव विष्टले ठूला मिडियादेखि सामाजिक सञ्जालसम्म एजेण्डा सेटिङ गरेरै एमालेविरुद्ध आक्रमण भइरहेकोले त्यसका विरुद्ध प्रत्याक्रमणमा उत्रनु आवश्यक रहेको वताउनुभयो । 
त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव उर्मिला सुनुवारले उपत्यका र अन्तर्गतका जिल्ला कमिटीका प्रचारका काम र भावी योजना प्रस्तुत गर्नुभएको थियो भने प्रेस चौतारीका कोषाध्यक्ष इन्द्र आचार्यले सोसल मिडिया सञ्चालनका सम्बन्धमा जानकारी गराउनुभएको थियो । 
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू बीना श्रेष्ठ, सीता लामा, गोविन्द दुलाल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । उपत्यका विशेष प्रदेश कमिटी प्रचार विभाग प्रमुख श्रीधर आचार्यले सञ्चालन गर्नुभएको बैठकमा उपत्यका प्रदेश कमिटी अन्तर्गत प्रचार विभाग, चार जिल्ला कमिटी र सञ्चार इलाका कमिटीका अध्यक्ष, प्रचार विभाग प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।