detail-img

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि 

रुपन्देही । नेकपा (एमाले)को लुम्बिनी प्रदेश संगठन कमिटीको पहिलो अधिवेशन आज शुरू हुँदै छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले बुटबल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपरान्ह अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम छ । 
अधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) का नेताहरूले यस अधिवेशनले देशलाई नयाँ सन्देश दिने बताउनुभएको छ । 
आज र भोलि (भदौ १६ र १७ गते) हुने अधिवेशनले पार्टीको राजनीतिक जीवनलाई थप ऊर्जा दिने र देशलाई नै नयाँ सन्देश दिने उहाँहरूले बताउनुभयो । 
पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य सूर्य थापा, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले यस्तो बताउनुभएको हो । 
सचिव तथा प्रदेश इन्चार्ज अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मति रूपमा गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताउनुभयो । 
उहाँले पार्टीभित्र स्वस्थ प्रतिपर्धालाई निषेध नगरिएको तर अहिले प्रचारमा ल्याइएजस्तो कुनै समूहगत उम्मेदवारी नहुने स्पष्ट पार्नुभयो । 
पोलिटब्यूरो सदस्य सूर्य थापाले लोकतान्त्रिक प्रक्रिया अपनाउने विषयमा नेपालमा सबैभन्दा पहिले पार्टी नेकपा (एमाले) भएको बताउनुभयो । उहाँले अहिले प्रचारमा आएजस्तो एमालेमा कुनै गुट नभएको बताउँदै सबैले आश्चर्य मान्ने तरिकाले नेतृत्व चयन हुनसक्ने बताउनुभयो । 
नेकपा (एमाले)ले वर्ष २०८० लाई आफ्नो पार्टीको अधिवेशन वर्षका रूपमा घोषणा गरी अघि बढेको र यो प्रादेशिक अधिवेशन विविध कारणले अर्थपूर्ण रहेको प्रदेश अध्यक्ष कंडेलले बताउनुभयो । 
‘सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्दै छ साथै यसले पार्टी जीवनलाई सङ्घीय ढाँचा अनुरुपमा लगेर नयाँ नेतृत्व चयन गर्ने भएकाले यो आफैमा ऐतिहासिक महत्वको पनि छ,’–अध्यक्ष कंडेलले भन्नुभयो । 
उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्यूरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने अध्यक्ष कंडेलले बताउनुभयो ।
सम्मेलनपूर्व विहान १० बजेदेखि बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्ने कार्यक्रम छ ।
सम्मेलनका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका गरी एकहजार चारजना प्रतिनिधिहरू सम्मेलनका सहभागी हुँदैछन् । 
अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ । 
सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा एकहजार चारजना प्रतिनिधि छनोट भएको  नेकपा (एमाले) लुम्बिनी प्रदेश प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताउनुभयो ।
सम्मेलनको तयारीको सन्दर्भमा गठित मूल आयोजक कमिटीसहित, प्रतिवेदन लेखन, खाद्य तथा आवास, प्रचार प्रसार, मञ्च तथा स्वयंसेवक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्राथमिक स्वास्थ्य, जनपरिचालन जस्ता समितिले यो सम्मेलन सफल बनाउन गर्नुपर्ने सम्पूर्ण काम सम्पादन गरिसकेको उहाँले बताउनुभयो ।