detail-img

मानव बेचविखन रोक्न सामाजिक सचेतना र सरकारी प्रतिबद्धता आवश्यकः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उद्देश्य र गन्तव्य पवित्र, मानवोचित र सुन्दर समाज निर्माण रहेको वताउनुभएको छ । 
नेकपा (एमाले) सामाजिक सुरक्षा तथा समाज कल्याण विभागद्वारा आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित ‘नेपालमा मानव बेचविखन तथा ओसारपसार र बालबालिकाको अवस्था’ का विषयमा आयोजना गरिएको विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो । 
मानव सचेत, बुद्धिमान र प्रकृतिको सर्वोत्कृष्ट रचना भएका कारण आधुनिक विकासमा गरेको आश्चर्यजनक प्रगतिको चर्चा गर्दै अध्यक्ष ओलीले मानिसकै कुमति, भ्रष्टमति र स्वार्थका कारण मानव बेचविखनजस्तो निकृष्ट काम पनि भइरहेको स्पष्ट गर्नुभयो । 
उहाँले भन्नुभयो– कुमति र भ्रष्टमतिकै कारण अहिले देशको विकास नभई षडयन्त्र, धोका र तस्कर बचाउने जस्ता अनुचित कार्य भइरहेका छन् ।


अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका समयमा भएका सामाजिक सुरक्षा, सामाजिक न्यायका कामको चर्चा गर्दै अध्यक्ष ओलीले त्यसबेला कोही भोकै नपरुन्, कोही भोकले नमरुन् भन्ने उद्देश्यका साथ काम गरिएको र सडक बालबालिका र सडक मानवरहित अभियान चलाइएको स्मरण गर्नुभयो । 
नेपालमा बार्षिक ३५ हजारभन्दा बढी मानिस बेचविखन र ओसारपसारका घटनामा पर्ने गरेको र नेकपा (एमाले) यस अवस्थामा परिवर्तन गर्न चाहन्छ भन्नुहुँदै अध्यक्ष ओलीले मानव बेचविखन रोक्न सामाजिक सजगता र सरकारी प्रतिबद्धता चाहिने वताउनुुभयो । 
उहाँले व्यवस्था परिवर्तनसँगै जनताको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनमा परिवर्तन आवश्यक रहेको र त्यो परिवर्तनले मात्र व्यवस्था परिवर्तनले सार्थकता पाउने स्पष्ट गर्नुभयो । 
‘वर्तमान सरकारमा त्यस्ता काम गर्नुपर्छ भन्ने खालको सोच समेत नभएको उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले राष्ट्रिय आकांक्षाको रूपमा अगाडि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेकपा (एमाले) को गन्तव्यका रूपमा रहेको र यो भनेको मानिसको हिंसारहित, त्रासमुक्त वातावरणमा बाँच्न पाउने सुरक्षाको ग्यारेण्टी भएको समाज निर्माण गर्ने हो भन्नुभयो । 
नेकपा (एमाले) पोलिटव्यूरो सदस्य तथा सामाजिक सुरक्षा तथा समाज कल्याण विभागका प्रमुख सुशीला नेपालको अध्यक्षतामा भएको विचार गोष्ठीमा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सभ्य र मानवोचित समाज निर्माणमा लागेको एमालेका कुनै पनि सदस्य मानव बेचविखनजस्तो अमानवीय कार्यमा लागेको हुनुहुँदैन भन्नुभयो । 
उहाँले मानव बेचविखन विरुद्ध काम गर्न कानुन निर्माण तथा कानुनमा सुधार आवश्यक छ भने कानुनहरू अध्ययन गरी सुझाव तयार गर्न विभागलाई निर्देशन दिनुभयो ।