२१ कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गरेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभएको छ ।
उहाँले पार्टीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा आज यहाँ आयोजित विद्वतवर्गसँगको अन्तरसंवादमा राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रपति पौडेलले असंवैधानिक ढङ्गले प्रतिनिधि सभा विघटन गरेकाले पुनर्स्थापना पनि उहाँ आफैले गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले विघटन गर्न सक्नेले पुनर्स्थापना गर्न पनि सक्नुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयाे, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ। र प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउनुपर्दछ। जसले विघटन गर्छ, त्यसले पुनर्स्थापना गर्छ। कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ। असंवैधानिक ढङ्गले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनर्स्थापना गर्नुपर्यो नि। विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नु पर्यो । यस कुरामा हामी लेख्नसक्नु पर्दछ। बोल्न सक्नुपर्दछ । सत्यको पक्षमा उभिन सक्नुपर्दछ।’
उहाँले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर आन्दोलनमा उत्रन सबैलाई आह्वान पनि गर्नुभयो ।
अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन र संसद् विघटन संविधानविपरीत भएको जिकिर गर्नुका साथै वर्तमान सरकार प्रतिगामी भएको बताउनुभयो ।
संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको उहाँले आलोचना गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– डिस्कर्डमा मतदान भएको भनेर पूर्व प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइएको छ । पूर्व प्रधानन्यायाधीशले राष्ट्रिय मानव अधिकार आयोगमा बाहेक अन्य कार्यकारी भूमिकामा आउनु असंवैधानिक हो भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता छ । त्यसैले हामीले प्रतिनिधिसभा पुनःस्थापनाबाट निकासमा जाउँ भनेका हौँ ।
जानीजानी संविधान मिचेर बनेको यो सरकार प्रष्ट रूपमा प्रतिगामी भएको उहाँले बताउनुभयो । सरकार स्वेच्छाचारी ढङ्गले आतङ्क सिर्जना गरेर चल्न नसक्ने भनाइ राख्दै अध्यक्ष ओलीले संविधानलाई पालना नगरेर आफूखुसी चल्ने अभ्यास लोकतान्त्रिक हुन नसक्ने बताउनुभयो ।
नेकपा (एमाले) महान आन्दोलनबाट जन्मिएको पार्टी भएको र यो देशमा भएका सबै आन्दोलनहरूमा अग्रभागमा रहेको पार्टी भएकाले निराश हुन नजान्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले संगठनभित्र अनुशासन र धैर्यको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
आफ्नो पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नदिने असंवैधानिक वर्तमान सरकारले निर्णय गरेको आफूले सुनेको तर त्यस्तो पत्र भने नपाएको बताउँदै उहाँले आफू कतै नभाग्ने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– यो असंवैधानिक, कसैप्रति पनि उत्तरदायी नभएको सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ? मर्न परे यही देशमा मर्छु, शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ? के सोचेको छ यिनीहरूले, तमासाको पनि हद हुन्छ नि ।
आफूलाई काठमाडौं छाड्न नमिल्ने सीमा तोकेर देशमा चुनाव हुन नसक्ने उहाँले बताउनुभयो ।