detail-img

अब कार्यकर्ताको वास्तविक परीक्षा सडकमा हुने छः उपाध्यक्ष पौडेल 

२० कात्तिक (२०८२), बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले अब कार्यकर्ताको वास्तविक परीक्षा बैठक र कोठामा होइन, सडकमा हुने बताउनुभएको छ । 
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीका कार्यकर्ताले आन्दोलन र जनताको पक्षमा उभिएर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने धारणा राख्नुभयो ।
उपाध्यक्ष पौडेलले भन्नुभयो– प्रतिगमनविरुद्धको आन्दोलन र प्रतिनिधिसभा पुनःस्थापनाका लागि हुने सङ्घर्ष कार्यकर्ताको परीक्षणको घडी हो, अब परीक्षा वक्तृत्वमा होइन, व्यवहारमा हुन्छ । जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न अग्रपङ्क्तिमा उभिन सक्नुपर्छ ।
पार्टीको आसन्न ११औं राष्ट्रिय महाधिवेशनले केवल एमालेको मात्र नभई सिङ्गो राष्ट्रको भविष्य निर्धारण गर्ने भएकाले यो महाधिवेशन समृद्धि र समाजवादको यात्रासँग जोडिएको ऐतिहासिक अवसरको रूपमा रहेको उहाँले बताउनुभयो ।  ‘हामीले देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको बाटोमा अघि बढाउने जिम्मा लिएको छौं’, उपाध्यक्ष पौडेलले भन्नुभयो ।  पार्टीको दशौं महाधिवेशनले तोकेको मापदण्ड र पद्धतिलाई कायम राख्दै प्रतिनिधि चयन गर्नुपर्नेमा उहाँको जोड थियो । उपाध्यक्ष पौडेलले पार्टीभित्र शुद्धिकरण र संगठन सुदृढीकरणको आवश्यकता औल्याउँदै अनुशासन, एकता र विचारमा दृढता देखाउन आग्रह गर्नुभयो ।
हाल एमाले विभिन्न पक्षबाट प्रहारको निशाना बनेको चर्चा गर्दै उहाँले त्यसलाई परास्त गरेर पार्टीलाई अझ सबल र जनमुखी बनाउन सबै स्तरका नेताकार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उपाध्यक्ष पौडेलले भन्नुभयो– पार्टीमाथि भएका हरेक प्रहारको प्रतिरोध गर्दै हामीले जनताको भरोसा पुनःस्थापित गर्नुपर्छ ।
उहाँले बैठकमा आगामी राजनीतिक कार्यक्रम, संगठन सुदृढीकरण र ११औं महाधिवेशन तयारीका विषयमा समेत निर्देशन दिनुभएको थियो । 

भदौ २३ र २४ को घटना प्रतिक्रान्ति र प्रतिगमनको उदाहरण

बैठकलाई सम्बोधन गर्दै पार्टी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले भदौ २३ र २४ गते भएको राजनीतिक घटनाक्रम देशको लोकतान्त्रिक अभ्यासमाथिको प्रतिगमन र प्रतिक्रान्ति भएको बताउनुभयो । 
सार्वभौम संसद् विघटन, जननिर्वाचित सरकार अपदस्थ र राज्यका अङ्गहरू निष्प्रभावी बनाइएको घटना नेपालको राजनीतिक यात्रामाथिको ठुलो धक्का भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– भदौ २३ र २४ को घटना केवल राजनीतिक निर्णय थिएनन्, ती घटनाले व्यवस्थापिका र कार्यपालिका दुबैलाई खरानी बनाए, यो अग्रगामी होइन, पूर्णतः पश्चगामी कदम हो । उक्त घटनाबाट मुलुकको संस्कृति, राजनीतिक मूल्य र इतिहासमाथि आक्रमण भएको छ, जसले जनताको विश्वास कमजोर बनाएको छ ।
अहिलेको आन्दोलनलाई ‘पछाडि फर्काउने प्रयास’को रूपमा चित्रण गर्दै उहाँले त्यो प्रतिक्रान्ति भएको बताउनुभयो । सचिव अर्यालले भन्नुभयो– आजको आन्दोलनले मुलुकलाई अघि होइन, दशकौँ पछाडि फर्काउन खोजिरहेको छ, त्यसैले यस अवस्थामा कार्यकर्ता बहकिनु हुँदैन, स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक छ ।
उहाँले कार्यकर्तामाझ राजनीतिक स्पष्टता र वैचारिक दृढताको आवश्यकता औल्याउँदै भदौ २३ गते दिउँसो १ बजेसम्मको आन्दोलन र त्यसपछि भएका घटनालाई फरक ढङ्गले बुझ्नुपर्ने धारणा राख्नुभयो । त्यो मोडबाट देशले जनताको अधिकार र संवैधानिक लोकतन्त्रमा ठुलो ह्रास आएको उहाँको ठम्याइ छ । 
लोकतन्त्र, सुशासन र विकासको जिम्मा बोकेको एकमात्र शक्ति एमाले भएको भन्दै सचिव अर्यालले सुशासन कायम गर्ने एजेन्डा पार्टीको मुख्य अभियान रहेको बताउनुभयो । उहाँले भन्नुभयो– हामीले जनतासँग गरेको वाचा सुशासन हो, जनजीविकाका मुद्दा उठाउने हाम्रो प्रतिवद्धता हो, एमालेले नै जनताको प्रश्नलाई संस्थागत रूपमा बोकेको छ ।
बैठकमा उहाँले लुम्बिनी प्रदेशका जिल्ला कमिटी, जनसंगठन र महिला नेतृहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिँदै भदौ २३ र २४ को घटनाले दिएको चेतावनीलाई पार्टीले आत्मसात गर्नुपर्ने बताउनुभयो ।