१९ कात्तिक (२०८२), काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित संयुक्त बैठकले संविधानको रक्षार्थ जनपरिचालनमा एकीकृत भएर लाग्ने निर्णय गरेको छ ।
पार्टीका उपत्यकाका भौगोलिक र गैरभौगोलिक कमिटी तथा जनसंगठनको संयुक्त बैठकले आज पार्टी केन्द्रको निर्णय अनुसार संविधान विपरीत जननिर्वाचित प्रतिनिधि सभा पुनर्गठन गरी संविधानको रक्षा गर्न व्यापक जनपरिचालनका लागि एकताबद्ध भएर लाग्ने निर्णय गरेको हो ।
पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको आतिथ्यतामा बसेको विशेष प्रदेशको बैठकले पार्टीको निर्णय अनुसार वडादेखि पालिका हुँदै जिल्ला र केन्द्रीय स्तरका जनप्रदर्शनका कार्यक्रममा उपत्यकाबाट व्यापक सहभागिता जुटाउन लागिपर्ने निर्णय गरेको पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेशका इन्चार्ज सुजिता शाक्यले जानकारी दिनुभयो ।
‘पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई समेतको उपस्थितमा बसेको बैठकले उपत्यकाभित्रका भूगोल, गैर भूगोलमा रहेका सबै पार्टी कमिटी, जनवर्गीय संगठनहरूका तर्फबाट आयोजना हुने कार्यक्रमलाई भव्यरूपमा सफल पार्न भूमिका खेल्ने निर्णय भएको छ’, इन्चार्ज शाक्यले थप्नुभयो– गएको भदौ २३ गते जेन जी पुस्ताले उठाएका जायज मागमा घुसपैठ गरेर राष्ट्रिय धरोहरसहित पार्टी कार्यालय र नेताहरूका व्यक्तिगत सम्पत्ति खरानी बनाउने गरी भएको आगजनी र लुटपाटमा संलग्नलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई दबाब दिने निर्णय बैठकले गरेको छ ।
लोकतन्त्र ल्याउन स्थापना भएका दल र जीवनभर नागरिकका अधिकारका पक्षमा लागेका नेताहरूप्रति वर्तमान सरकार पूर्वाग्रही बन्दै गएकोप्रति आपत्ति प्रकट गरेको बैठकले त्यसका बिरुद्धमा लाग्न काठमाडौं उपत्यकावासीलाई आग्रह समेत गरेको छ ।
लामो राजनीतिक र सामाजिक सङ्घर्षको उपलब्धिका रूपमा जननिर्वाचित संस्थाले बनाएको संविधान मास्ने अनेक खाले प्रपञ्च भैरहेकोप्रति सजग गराएको बैठकले संविधानको रक्षार्थ एमालेले यही कात्तिक २२ गते आयोजना गर्ने वडास्तरीय भेला, २५ गते गर्ने पालिकास्तरीय जनसभा, २९ गते गर्ने जिल्लास्तरीय जनसभा र मङ्सिर ६ गते गर्ने काठमाडौं उपत्यकास्तरीय जनसभालाई सफल पार्न उपत्यकाका सबै पार्टी कमिटी र उपत्यकावासीलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, केन्द्रीय सदस्यहरू वीना श्रेष्ठ, बालिका गिरी, टुकाभद्र हमाल, मेनका पोखरेल लगायतका पार्टी र जनसंगठनका नेताहरूको उपस्थिति रहेको थियो ।