detail-img

देशलाई अगाडि बढाउन अझै २० बर्ष भूमिका खेल्छुः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारका कारण सुशासन, विकास लगायतका हिसावले मुलुक प्रतिकूल अवस्थामा रहेको बताउनुभएको छ ।
शनिबार भक्तपुरमा विद्यार्थीहरूसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ओलीले देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको र युवा हस्तक्षेपको आवश्यकता रहेको बताउनुभयो । युवाले परिपक्व पार्टी, परिपक्व साथ लिएर राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताउँदै त्यसपछि मात्रै देश बनाउन सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो– गठबन्धनको नाम लिएर प्रोफेसर कुट्ने र गुण्डागर्दीमा उत्रिँदा पनि सरकार मौन रहेको छ । 
विद्यार्थीहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले दुई पटक शल्यक्रिया गरेपछि अहिले आफ्नो स्वास्थ्य पूर्णरूपमा ठीक रहेकाले देशलाई अघि बढाउन अझै २० वर्ष भूमिका खेल्ने वताउनुभयो । 
अध्यक्ष ओलीले जनताले आफूलाई जेलबाट छुटाएर विभिन्न पद हुँदै प्रधानमन्त्रीसम्म बनाएको भन्दै जनताप्रति आफ्नो अन्त्यन्तै आदरभाव रहेको स्पष्ट गर्नुभयो ।
बासँग विद्यार्थी नामको उक्त अन्तर्क्रियामा अध्यक्ष ओलीले आफूले जीवनका साह्रै दुःख सास्ती खेपेको सुनाउँदै त्यस्तो हण्डर र ठक्कर जीवनमा कसैले नपाओस् भन्ने कामना गर्नुभयो । 
आफू तीन वर्षको हुँदै आमा बित्नु भएको बताउँदै हजुरआमाले आफूलाई हुर्काउनु भएको अध्यक्ष ओलीले बालबालिकालाई सुनाउनुभयो । 
अध्यक्ष ओलीलाई बालबालिकाको प्रश्न थियो– तपाई आफूलाई कति अब्बल राजनीतिज्ञ मान्नुहुन्छ ? 
बालबालिको प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफू अब्बल राजनीतिज्ञ नभएको वताउनुभयो । नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न नसक्नु आफूले आफ्नो असफलता ठान्ने गरेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले अब्बल राजनीतिज्ञ नेपाली राजनीतिमा अहिले नरहेको भन्दै त्यस्तो व्यक्ति अब बालबालिकाबाट निस्किनुपर्ने बताउनुभयो ।
राजनीतिमा लागेर १४ बर्ष जेलमा आफूले धेरै कष्ट, चरम यातना खेपेको बताउँदै उहाँले भन्नुभयो– तपाईँहरू कसैको पनि मेरोजस्तै कष्टपूर्ण जीवन हुँदै नहोस् म शुभकामना भन्न चाहन्छु ।  
जेलमा बस्दा आफूले हतकडी र नेलकडी भोगेको, नेलकडी लगाउँदा गोडामा घाउ भएर भतभती पोलेको, खान नपाएको, कुटाई नै कुटाइ खाएको कुरा अध्यक्ष ओलीले बालबालिकालाई सुनाउनुभयो । मान्छेले सहनै नसक्ने खालका यातना आफूले भोगेको अध्यक्ष  ओलीले बताउनुभयो ।