सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको नायक भएको बताउनुभएको छ ।
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको आज सुर्खेतमा उद्घाटन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम गर्ने पार्टी पनि एमाले नै हो भन्नुभयो ।
नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्दा देशमा विकासको बाटो देखाएको चर्चा गर्दै उहाँले भन्नुभयो– राष्ट्र जोगाउने, समृद्ध बनाउने, देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने अभिभारा हामीमा छ । नेकपा (एमाले) अरूजस्तो पार्टी होइन, सुशासन र विकासका लागि हाम्रो पार्टीले अगुवाइ गर्छ ।
अध्यक्ष ओलीले भन्नुभयो– देशमा एमाले सरकारमा आएकाले जनताले विकास देखे । राजमार्ग, पुल, सडक बने । भूकम्पको पुनः निर्माण, अस्पताल, विद्यालय, विश्वविद्यालय, सरकारी कार्यालयलगायत पुनर्निर्माण भयो, यसले जनतामा उत्साह जगायो ।
अहिलेको गठबन्धन सरकार गैरजिम्मेवार रहेको र जनताका समस्या नहेर्ने बताउँदै उहाँले भन्नुभयो– गठबन्धन सरकार गैर जिम्मेवार छ । घृणा र अपराधलाई बढावा दिएको छ । मान्छे मार्नेलाई सरकारले सुटुक्क छोड्छ । गुण्डाको संरक्षण गरेको छ ।
मानवताविरुद्ध अपराध गर्ने ज्यानमाराहरूलाई सरकारले उन्मुक्ति दिएकोमा आपत्ति प्रकट गर्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो–अपराधी जेलमा बस्नु पर्दैन भने अपराधीलाई कारबाही गर्ने कानुन किन बनाएको ?
उहाँले कर्णाली प्रदेशमा कृषि उत्पादनमा जोड दिनुपर्ने र सहकारीमार्फत ठुलो मात्रामा उत्पादनमा बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्ध भएको र विकासको सम्भावना रहेको बताउनुभयो ।
नेकपा (एमाले)विरुद्ध अनेक खालका घेराबन्दी र हमलाको प्रयास भए पनि सबै घेराबन्दीलाई तोडेर अघि बढ्न पार्टी सक्षम रहेको उहाँको भनाइ छ । त्यसको लागि नेकपा (एमाले)ले मिसन २०८४ को अभियान सुरु गरेको उहाँले प्रष्ट पार्नुभयो ।
मिसन २०८४ लाई सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर सफल पार्नुपर्ने र नेकपा (एमाले)लाई २०८४ मा एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– एमालेका विरुद्ध विरोधीले अनेक बहाना गरेर प्रचार गर्ने गरेको र अधिवेशनमा नेतृत्व चयनका सन्दर्भमा पनि एमालेमा सर्वसम्मति भयो भने त्यो पार्टीमा आन्तरिक लोकतन्त्र छैन, चुनाव नै लड्न दिइँदैन भन्ने र चुनाव लड्दा मिलाउन सकेनन् भन्ने आरोप विरोधीले लगाउने गरेकाछन् ।
उहाँले सुन तस्करीको छानबिनका लागि आन्दोलन गरेर समिति बनाउन लगाएकाले एमालेसँग भएको सहमतिमा खेलबाड नगर्न सरकारलाई सुझाव दिनुभयो ।
देशको सार्वभौमसत्ता धरापमा पार्न खोजिएको छ, स्वाधीनताको हुर्मत लिइएको भन्दैै उहाँले राष्ट्रिय स्वाभिमानको झण्डा एमालेले मात्र उठाउने वताउनुभयो ।
अध्यक्ष ओलीले नयाँ पार्टी लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरु भएको बताउनुभयो ।
पुराना बलिदान गरेका पार्टी अब काम लाग्दैनन् भन्नेहरूलाई अध्यक्ष ओलीले भन्नुभयो– यो देशको विकास र परिवर्तनको नेतृत्व गर्ने एक मात्र पार्टी एमाले हो ।
उद्घाटन समारोहमा अधिवेशन सफलताको शुभकामना दिँदै महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले देशलाई समृद्धिको युगमा अगाडि बढाउन नसक्ने बताउनुभयो ।
महासचिव पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा विकास गरिने वताउनुभयोे ।
‘हामीले राष्ट्र निर्माणको नेतृत्व गरिरहेका बेला सबै मिलेर सरकारबाट हटाएको र एमाले नेतृत्वमा नहुँदा समाजमा वितृष्णा जागेको छ’, चर्चा गर्दै महासचिव पोखरेलले आज एमालेविरूद्ध चौतर्फी घेराबन्दी गरिए पनि आगामी निर्वाचनमा बहुमत प्राप्त गरी एमाले एक्लैले सरकारको नेतृत्व गर्नेगरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको स्पष्ट गर्नुभयो ।
उहाँले पार्टीले तय गरेको मिसन २०८४ को लक्ष्यमा पुग्न सबै नेताकार्यकर्ताहरू लाग्नुपर्ने उहाँको भनाइ छ ।
नेकपा (एमाले) कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सचिव तथा कर्णाली प्रदेश ईन्चार्ज लेखराज भट्ट लगायत नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।