रुपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश अन्तर्गतका सबै (१२ वटै) जिल्ला कमिटीका अधिवेशन पुस महिनाभित्र गरिने भएको छ ।
बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको पहिलो पूर्ण बैठकले १२ जिल्लामध्ये रुकुमपूर्व मंसिरमा र अन्य ११ जिल्लामा पुसभित्र अधिवेशन गर्ने मिति तय गरेको छ ।
प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि पार्टीका सचिव तथा प्रदेश ईन्चार्ज पद्मा अर्यालले अहिलेको कमिटीको कार्यकालमा आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव र पार्टीको ११औं महाधिवेशन सम्पन्न हुने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउनुभयो ।
सचिव अर्यालले अधिवेशनमा प्रतिस्पर्धालाई स्वाभाविक ठानेर प्रतिस्पर्धाबाट उत्पन्न मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्ने गरी योजना बनाउन निर्देशन दिनुभयो । सचिव अर्यालले जनतामा एमालेले भनेजस्तो, सोचेजस्तो काम गरेन भन्ने गुनासो बढेको विषयलाई ध्यान दिँदै यसलाई व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने बताउनुभयो ।
पार्टीका जिम्मेवारीमा बसेका नेताकार्यकर्ताहरूले आफ्नो आचरणमा सदैव ध्यान दिनुपर्ने बताउँदै सचिव अर्यालले भन्नुभयो– कमिटी चलाएर मात्र पुग्दैन । वैचारिक हिसाबले हामी स्पष्ट हुनुपर्छ । माक्र्सवाद, जनताको बहुदलीय जनवाद, पार्टीको राजनीतिक कार्यदिशा के हो जान्नुपर्छ ।
उहाँले निर्णय कार्यान्वयनमा एकरूपता, संगठनात्मक चुस्तता, समुदायका एजेण्डा र नागरिकका समस्यामा सहभागिता हुनेगरी पार्टीका योजना बनाउनुपर्ने बताउनुभयो ।
बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँट, जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग सञ्चालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुङ्गो लगाएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।