detail-img

गण्डकी प्रदेश कमिटीको अधिवेशन भोलि, तयारी पूरा

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले भोलि (असोज १५ गते) उद्घाटन गर्नुहुने अधिवेशनको तयारीको सन्दर्भमा आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । 
पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले पार्टीमा आन्तरिक जनवादलाई कार्यान्वयनमा ल्याउने पहिलो पार्टी नेकपा (एमाले) भएको बताउँदै सहमतिबाट नेतृत्व छान्ने कुरा उच्चस्तरीय लोकतान्त्रिक अभ्यास भएको बताउनुभयो । त्यसो नभए मत विभाजन प्रक्रियाबाट पनि नेतृत्व चयन गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो । 
पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य खगराज अधिकारी, किरण गुरूङ, प्रदेश अध्यक्ष नवराज शर्मा लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
सचिव विष्टले नेकपा (एमाले)ले सुरु गरेपछि मात्र नेपाली कांग्रेसले पार्टीको आन्तरिक जीवनमा निर्वाचनको अभ्यास गरेको स्मरण गराउनुभयो । लोकतन्त्रको व्यवहारमा अभ्यास गर्ने पहिलो पार्टी एमाले भएको भनाइ उहाँले राख्नुभयो । 
प्रदेश ईन्चार्ज विष्टले गण्डकी प्रदेश कमिटीको नेतृत्व चयन गर्दा अधिकतम सहमतिको लागि प्रयास गरिने वताउनुभयो ।  
पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनसक्ने बताउँदै विष्टले प्यानल बनाएर पार्टीको आन्तरिक चुनावमा जाने कुरा मान्य नहुने प्रष्ट पार्नुभयो । प्यानल बनाएर चुनाव लड्नेको उम्मेदवारी खारेज हुने कुरा पार्टी अध्यक्षले बताइसक्नुभएको उहाँले स्मरण गराउनुभयो । 
प्यानल बनाएर चुनाव लड्दा माथिदेखि तलसम्म पार्टी विभाजन हुने भएकाले त्यसो हुन नदिने उहाँले बताउनुभयो । सचिव विष्टले भन्नुभयो– सहमतिका लागि अधिकतम प्रयास हुन्छ, नभए स्वच्छ प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन हुन्छ ।
सचिव विष्टले नेकपा (एमाले)को अधिवेशन पार्टीको आन्तरिक जीवनका लागि मात्र नभएर देशको समृद्धि, विकास र राष्ट्रियता संरक्षणको लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।