काठमाडौं । नेकपा (एमाले) पर्वत–काठमाडौं सम्पर्क मञ्चले दसैँ तथा तिहारको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुहुँदै वर्तमान गठबन्धन सरकार देशमा भ्रष्टाचार, तस्करी र अशान्तिका लागि अनुकूल बनिरहेको बताउनुभयो ।
सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपालको कूटनीतिक क्षमता कमजोर पारेको उहाँको भनाइ छ ।
उपमहासचिव ज्ञवालीले मुलुकमा अहिले सञ्चारमाध्यमहरूले अरु पार्टीका जस्तोसुकै कमजोरीलाई ढाकछोप गर्ने तर एमालेप्रति अफवाहमात्र फैलाउने गरेको बताउनुभयोे ।
पार्टीका प्रदेश अधिवेशनमा नेतृत्व चयनका सन्दर्भमा सर्वसम्मत भएमा पार्टीले टीका लागाईदिएको भन्ने र प्रतिस्पर्धा भएमा नेतृत्व कमजोर भएको भन्दै गरिने हल्लाहरू प्रायोजित देखिने र त्यस्ता हर्कतहरू सञ्चारमाध्यमको धर्मभित्र नपर्ने बताउनुभयो ।
नेपाली जनताले हल्लाको पछि नलागी सही सत्य बुझेर नेकपा (एमाले)को सरकार बनाउनमा सक्रियता देखाउनुपर्ने भनाइ उहाँले राख्नुभयो ।
कार्यक्रममा उपमहासचिव ज्ञवालीले मञ्चद्वारा प्रकाशित पुस्तक ‘पर्वत दर्पण’ अंक ६ को विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा प्रमुख सचेतक पदम गिरी, केन्द्रीय सदस्य कल्पना चापागाईं, केन्द्रीय सदस्य कल्पना थापा लगायतले शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले राजनीतिमा इमान्दारिता, उत्तरदायित्व, पारदर्शितामा जोड दिनु भएको थियो ।
कार्यक्रममा प्रा.डा. खड्क केसीले नेपाल र अन्तर्राष्ट्रिय सम्बन्धबारे समीक्षा गर्नुभयो । शुभकामना आदानप्रदान तथा पर्वत दर्पण विमोचन कार्यक्रम मञ्चका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको थियो ।