detail-img

समुन्नत मधेश बनाउन एमालेको सरकार आवश्यकः सचिव भट्टराई

जनकपुरधाम । नेकपा (एमाले) का सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा आर्थिक समृद्धि र सुशासनका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ ।
जनकपुरमा आज (२०८० असोज २३ गते) आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले मधेसमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो । 
उहाँले भन्नुभयो– सिंगो मधेशलाई विकास निर्माण र सामाजिक न्यायको प्रत्याभूति, आर्थिक तथा हिसाबले समुन्नत र यहाँका तमाम विभेदहरूको अन्त्य नेकपा (एमाले)को नेतृत्वबाट मात्र सम्भव छ । 
विगत करिव छबर्ष अन्य पार्टीका मुख्यमन्त्रीको सरकार र त्यसले गरेका काम हेरिसकिएको र यस अनुभवबाट मधेशमा विकास र समृद्धिका लागि एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्छ भन्ने कुरालाई पुष्टि गरेको र जनताले पनि त्यो अनुभूति गरिरहेको इन्चार्ज भट्टराईले वताउनुभयो । 
उहाँले भन्नुभयो– २०८४ सालका लागि नेकपा (एमाले)को सरकार हाम्रो नारा हुन्छ । यही नाराको सेरोफेरोमा हामी सबै मधेशी समुदायलाई गोलबन्द गर्नेछौँ ।
सचिव भट्टराईले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने बताउनुभयो । 
इन्चार्ज भट्टराईले भन्नुभयो– चाडपर्वहरू सकिएपछि पार्टीका जिल्ला अधिवेशनहरू हुन्छन् । त्यसपछि देशभरका पालिका अधिवेशन हुन्छन् त्यसपछि वडा अधिवेशन गरिने छ । 
उहाँले मधेश प्रदेशका १३६ वटै पालिकामा एमालेलाई प्रमुखमा विजयी बनाउनुपर्ने तथा मधेश प्रदेश र सङ्घमा पनि बहुमतसहितको सरकार बनाउँदा मात्र मधेशको रूपान्तरण गर्न सकिने हुँदा पार्टी त्यही रूपमा परिचालित हुने र जनताले साथ दिनुपर्ने बताउनुभयो । 
पत्रकार सम्मेलनमा उहाँले यही असोज २४ र २५ गते हुन गइरहेको नेकपा (एमाले)को मधेश प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
सचिव भट्टराईले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने र त्यसो हुन नसक्दा हरेकलाई विधानसम्मत प्रतिस्पर्धा गरेर नेतृत्वमा आउने छुट रहेको स्पष्ट गर्नुभयो । 
मधेश प्रदेशको प्रथम अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मूल नाराका तय गरिएको छ । अधिवेशन जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने भएको छ । अधिवेशनमा एक हजार २७ प्रतिनिधिहरूको सहभागिता रहने छन् । पत्रकार सम्मेलनमा अधिवेशनको तयारीबारे जानकारी दिँदै प्रदेश अध्यक्ष राम अवतार यादवले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने उद्घाटनसत्रमा सहभागी हुन आउने प्रतिनिधि र आम कार्यकर्ताको व्यवस्थापनका लागि विभिन्न समितिहरू निर्माण गरिएको र सो समितिले काम गरिरहेको बताउनुभयो ।  पत्रकार सम्मेलनमा नेकपा (एमाले) धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुली महतो,  पोलिटब्युरो सदस्य सुमन प्याकुरेलसहित नेताहरूको उपस्थिति थियो ।