जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई जनताप्रति जवाफदेही हुन आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) मधेश प्रदेशको आज (२०८० असोज २४ गते)देखि जनकपुरधाममा सुरु भएको प्रथम अधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले जनता महङ्गीको मार परिरहेका र सरकार जनताप्रति जवाफदेही नभएको बताउनुभयो ।
उहाँले हमासको आक्रमण क्षेत्रमा फसेका नेपाली विद्यार्थीसहित इजरायलमा रहेका सबै नागरिकको उद्धार गरी राहत सुविधा उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो ।
नेकपा (एमाले) देश विकासको अभियन्ता भएको र मधेशको विकासका लागि पनि एमालेको पूर्ण बहुमतको सरकार आवश्यक रहेका बताउँदै अध्यक्ष ओलीले त्यसका लागि एमालेले मिसन–८४ अभियान अगाडि सारेर काम गरिरहेको स्पष्ट गर्नुभयो ।
उहाँले २०८४ सालको तीनै तहका निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने भन्दै हरेक वडामा समेत ५१ प्रतिशत हुने गरी विजयका लागि अभियानमा लाग्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले मधेश प्रदेशमा आगामी निर्वाचनमा एमालेलाई कम्तीमा ६० सिट आउने गरी काम गर्न निर्देशन दिनुभयो ।
उहाँले आफ्नो नेतृत्वको सरकारको गरेका कामबाट अत्तालिएका विरोधीहरूले विभिन्न खालका षडयन्त्र गरे पनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै कार्यकर्ताहरूलाई आन्तरिक एकताका साथै विरोधीसँग दृढतापूर्वक मुकाविला गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।
उद्घाटन समारोहमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई उठाउनका लागि मधेशलाई उठाउन जरूरी रहेको भन्दै त्यसका लागि एमालेको सरकार आवश्यक भएको बताउनुभयो ।
नेकपा (एमाले)को बहुमत नभएको खण्डमा देशमा राजनीतिक स्थायित्व कायम नहुने भन्दै आगामी निर्वाचनमा एमालेलाई बहुमत दिलाउनका लागि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा महासचिव शंकर पोखरेलले देशको विकासका लागि भिजन प्रस्तुत गर्ने पार्टी एमाले मात्र भएको जिकिर गर्दै एमाले नेतृत्वको सरकारका लागि मधेश प्रदेशले निर्णायक र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
मुलुकमा सिर्जना भएको राजनीतिक अस्थिरता र सामाजिक अराजकताबाट मुक्तिका लागि एमाले नै एक विकल्प भएको उहाँको भनाइ छ ।
कार्यक्रममा पार्टीका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भटट्राई, सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, पार्टीका पोलिटव्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली कुमारी महतो लगायत नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता नेकपा (एमाले) मधेश प्रदेश अध्यक्ष राम अवतार यादवले गर्नुभएको थियो । यसैबीच अध्यक्ष ओलीले आजै जनकपुरधाममा पार्टीको प्रदेश कार्यालयको शिलान्यास गर्नुभयो ।