काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका विराधीहरू सत्य, इमान, समानता र समृद्धिका शत्रु भएको बताउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय स्कुल विभागद्वारा सञ्चालित स्कुलका सहभागी प्रवासी नेपाली संघ, भारतका नेताकार्यकर्ताहरूको दीक्षान्त समारोहमा दीक्षान्त भाषण गर्नुहुँदै अध्यक्ष ओलीले विरोधीहरूका चुनौतीलाई बुझेर त्यसको सामना गरिने बताउनुभयो ।
उहाँले पार्टी स्कुलका सहभागीहरूलाई विरोधीले फिँजाएका भ्रमबाट जनतालाई मुक्त गर्ने काममा लाग्न र प्रशिक्षणमा सकेका कुरा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले विरोधीसँग लड्ने क्षमता संगठित रूपमा हुने भन्दै लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयता बाहेक संगठनात्मक सिद्धान्त अर्को नभएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष ओलीले संगठनको विभिन्न पदमा रहेका नेतामध्ये एउटालाई मान्छु, अर्कोलाई मान्दिन भन्नु अनुशासनहीन कुरा हो भन्नुभयो । उहाँले केन्द्रीयता नभई पार्टी हुनै नसक्ने र पार्टी संरचना स्वीकार गरिएन भने नीति कार्यान्वयन पनि नहुने वताउनुभयो ।
अराजकतालाई हरेक ठाउँमा अस्वीकार गर्न आग्रह गर्दै अध्यक्ष ओलीले भन्नुभयो– पार्टीमा सुदृढ अनुशासन चाहिन्छ । संगठनमा केन्द्रीयता आवश्यक छ ।
अध्यक्ष ओलीले बुद्ध विचार विस्तारमा भीक्षु आनन्दसहितका तीनजना भीक्षुले गरेको योगदान र त्रिपिटक लेखनका बारेमा चर्चा गर्नुभयो र प्रशिक्षण लिएका प्रवासी नेताकार्यकर्तालाई भन्नुभयो– कुराका पण्डित होइन, विचारका सम्वाहक गुरु बन्नुहोला । प्रशिक्षकले जहाँ पुगे पनि ज्ञानको ज्योति बाल्नुपर्ने, उज्यालो छर्नुपर्ने उहाँको भनाइ छ ।
नेकपा (एमाले) समृद्ध र समुन्नत समाज निर्माणका लागि निर्दिष्ट गन्तव्य, स्पष्ट विचार सुदृढ संगठनका रूपमा अगाडि बढिरहेको र संगठनमा बाँधिएका देशभक्त सिपाहीहरू पार्टीका नीति कार्यक्रम कार्यान्वयनमा विना प्रश्न लाग्नुपर्ने धारणा अध्यक्ष ओलीले राख्नुभयो ।
‘समाजवाद हात्ति छामेजस्तो आज छैन, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै समाजवाद हो,’ स्पष्ट गर्दै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादको बाटोबाटै त्यहाँ पुगिने छ भन्नुभयो ।
उहाँले विद्याले विनय दिने बताउँदै प्रशिक्षार्थीहरूले तीन दिनको प्रशिक्षणबाट विनय पनि सिकेको विश्वास व्यक्त गर्नुभयो ।
दीक्षान्त समारोहमा पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले स्कुल सञ्चालनबाट देशभर नेताकार्यकर्तामा ज्ञानको भोक जगाउन सकिएको बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास इनचार्ज हरि घिमिरेले मिसन २०८४ चलाई रहँदा पार्टीलाई सुदृढ, एकताबद्ध र पार्टी संगठनमा हार्दिकताको बिषयलाई सबैले महत्वका साथ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा भएको दीक्षान्त समारोहको सञ्चालन स्कुल विभाग सचिव घनश्याम कोइरालाले गर्नुभएको थियो । पार्टी स्कुलमा प्रवासी नेपाली संघ, भारतका अध्यक्ष नारायण होमागाईं, पदाधिकारी, केन्द्रीय सदस्यहरू लगायतको सहभागिता थियो ।