अछाम । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आगामी निर्वाचनमा पार्टीले बहुमत प्राप्त गरी सरकार सञ्चालन गर्ने बताउनुभएको छ ।
देश र जनताका पक्षमा नेकपा (एमाले) का सकारात्मक कामका कारण पार्टीप्रति जनताको विश्वास बढिरहेको र त्यो स्थानीय निर्वाचनमा पनि लोकप्रिय मतका रूपमा प्रकट भएको नेता भट्टराईको भनाइ थियो ।
प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले आगामी कात्तिक वा मंसीरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जननेता मदन भण्डारीका विचार देश र जनताको पक्षमा रहेको र मुलुक त्यही बाटोमा अगाडि बढिरहेको वताउनुभयो । उहाँका नीति र विचार अहिले अन्य दलहरूले पनि अँगाल्न थालेको भट्टराईले बताउनुभयो ।
जननेता भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा मंगलसेनमा आयोजित ‘वर्तमान समयमा जबजको सान्दर्भिकता’ बिषयक प्रशिक्षण कार्यक्रममा उहाँले ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
वर्तमान गठबन्धनमा रहेका दलहरूको सत्तामा पुग्ने र मन्त्री हुने बाहेक कुनै उद्देश्य नरहेको उहाँको भनाइ थियो । सत्ता गठबन्धनमा रहेर एमालेसँग बार्गेनिक स्वीकार्य छैन भन्दै भट्टराईले बामपन्थी एकताका लागि पहिले गठबन्धन सत्ता छाड्नुपर्ने वताउनुभयो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला समिति अछामले २०७९ असार १४ गते आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य यज्ञबहादुर बोगटी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा.झलक गौतम लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।