detail-img

लमजुङमा काँग्रेस लगायत विभिन्न दलका १४८ जना एमालेमा

 

 

बेसीसहर । लमजुङमा नेपाली काँग्रेस र अन्य विभिन्न पार्टी परित्याग गरी १४८ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस सुन्दरबजार नगरपालिका समितिका पूर्व सभापति द्वारिकाप्रसाद मिश्र, जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम पोखरेल, जनता समाजवादी पार्टीका जिल्ला सल्लाहकार लक्ष्मीप्रसाद मिश्र, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि शिवकुमारी मिश्र, राष्ट्रिय कर्मचारी संगठन नार्कका केन्द्रीय सदस्य माओवादी सम्बद्ध रामचन्द्र मिश्रलगायत एमाले प्रवेश गर्नु भएको हो । 

नेकपा (एमाले) जिल्ला कमिटी लमजुङले सुन्दरबजारमा २०७९ असार १४ गते आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव, प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।

उपमहासचिव गुरूङले नवप्रवेशीहरूलाई पार्टीमा सक्रियतापूर्वक काम गर्न अनुरोध गर्दै सक्रियताका आधारमा पार्टीमा विना भेदभाव जिम्मेवारी दिइने बताउनु भयो ।

नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका द्वारिकाप्रसाद मिश्रले कुनै स्वार्थका लागि नभई आफू बसेको ठाउँ सही नभएका कारण एमालेमा प्रवेश गरेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम पोखरेलले काम गर्ने ठाउँ सही हुनुपर्छ भन्ने उद्देश्य र एमालेलाई राम्रो बनाउनुपर्छ भन्ने लक्ष्यका साथ एमालेमा प्रवेश गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्यहरू टुका हमाल, जमिन्द्रमान घले, प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी लगायतको उपस्थिति थियो ।

कार्यक्रम नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।