detail-img

मेसिनबाट धान रोपेपछि अध्यक्ष ओलीले भन्नुभयो– ‘धानका लागि नेपालको जमिन उत्तम छ’

 

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवमा सहभागी हुनुभएको छ ।

 पार्टीको जनसंगठन अखिल नेपाल किसान महासंघले भक्तपुरको सिरूटारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओली प्रमुख अतिथिको रूपमा सहभागी भई करीब १५ मिनेट मेसिनबाट धान रोप्नुभएको थियो ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालसहितका नेता कार्यकर्ताहरू रोपाईंमा सहभागी हुनुभएको थियो ।

रोपाईं कार्यक्रममा संक्षिप्त सम्वोधन  गर्दै अध्यक्ष ओलीले ६० प्रतिशत जनता कृषिमा निर्भर रहेको अवस्थामा धान आयात गर्नुपर्ने कुरा सकारात्मक नभएको बताउनुभयो ।

‘बहुसंख्यक जनता कृषिमा निर्भर भए पनि हाम्रो अवस्था भने आयातमा भर पर्नुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘यो सकारात्मक होइन । यो स्थिति हाम्रा लापर्वाही, असावधानी र प्रयास नगरेको कारण भएको हो ।’

 उहाँले आगामी दिनमा उत्पादन बृद्धिको बाटोबाट, जमिन खेर जान नदिने माध्यमबाट, कृषिको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

 ‘सही योजनाका साथ काम गरे धान उत्पादनमा नेपालले फड्को मार्न सक्छ,’ उहाँले भन्नुभयो, ‘नेपाल कृषि प्रधान देश हो र नेपालको मुख्य खाद्यान्न बाली भनेको धान हो । धानका लागि नेपालको जमिन उत्तम छ । हामीसँग समथर तराई र उर्वर माटो छ, त्यसै गरेर यहाँको हावापानी उत्तम छ धानको लागि,’ ओलीले भन्नुभयो ।