पोखरा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा पोखरा रङ्गशालामा आयोजित ‘केपी ओली कप राष्ट्रिय ट्वान्टी–२०’ क्रिकेट प्रतियोगिता उद्घाटन गर्नुभएको छ ।
अध्यक्ष ओलीले बलिङ र ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले नेपाल पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेकाले खेल विकासका लागि पूर्वाधार निर्माणसँगै खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले नेतृत्वको सरकारको समयमा दशरथ रङ्गशालादेखि देशका विभिन्न रङ्गशालाको निर्माण गरेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो । अध्यक्ष ओलीले खेलाडीहरूलाई व्यावसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले खेलकुदमा मुलुकलाई समृद्ध बनाउनका लागि खेलाडीलाई व्यावसायिक बनाउनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष ओलीले खेलको गुणस्तर बढाउन खेलमा खेलाडीको पूर्ण समर्पण आवश्यक पर्ने बताउनुभयो ।
‘खेलाडी खेलमा समर्पित हुन आर्थिक परिवेश, जीवन, परिवार जस्ता विषय पनि सम्बन्धित हुन्छन’, उहाँले भन्नुभयो– अहिले केही खेलहरू व्यावसायिक रूपमा विकास हुन थालेका छन्, जबसम्म खेल क्षेत्र र खेलाडी व्यावसायिक रूपमा पूर्ण समर्पित भएर जान सक्दैनन्, तबसम्म खेल क्षेत्रको गुणस्तर उठ्न सक्दैन ।’
खेलाडीलाई खेलप्रति समर्पणका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहेको समयमा खेल क्षेत्रमा गरेका कामको चर्चा गर्नुभएको थियो । उहाँले खेलाडीले गर्ने उत्कृष्ट प्रदर्शनले देशको गरिमा बढ्ने हुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) नेतृत्वको सरकारका समयमा खेल क्षेत्रमा धेरै उपलब्धि हासिल भएको उहाँको भनाइ छ । कार्यक्रममा नेकपा (एमाले) का उपमहाचिव पृथ्वी सुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
मंसिर १५ सम्म पोखरा रङ्गशालामा हुने क्रिकेट प्रतियोगितामा सात प्रदेशका सात टिम, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब) र मदन भण्डारी स्पोट्स एकेडेमीका दुई टिमको सहभागिता रहेको छ ।