detail-img

महङ्गी, भ्रष्टाचार र सामाजिक अराजकताबिरूद्ध राजधानीमा भव्य प्रदर्शन

काठमाडौं । नेकपा (एमाले)को जनसंगठन राष्ट्रिय युवा संघ नेपालको आह्वानमा महङ्गी, भ्रष्टाचार, अनियमितता बिरुद्ध आज राजधानीमा शान्तिपूर्ण भव्य  प्रदर्शन गरिएको छ । 
महङ्गी, भ्रष्टाचार, अनियमितता, अराजकता, सामाजिक र धार्मिक सहिष्णुता र सद्भाव भड्काउने आपराधिक गतिविधिविरुद्ध गरिएको प्रदर्शनमा हजारौं युवा विद्यार्थी तथा पार्टीका विभिन्न जनसंगठन र नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो ।


बिभिन्न स्थानबाट र्यालीसहित कोटेश्वर तीनकुनेमा भेला भएका सहभागीहरूलाई पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।  पोलिटव्यूरो सदस्य तथा राष्ट्रिय युवा संघ, नेपालका इन्चार्ज महेश बस्नेतले आफूहरूको कार्यक्रमलाई कसैले गलत ढङ्गले प्रचार गर्दैमा दिग्भ्रमित हुन नपर्ने बताउनुभयो । गणतन्त्रको रक्षाका लागि पनि आफूहरूको आन्दोलन भएको उहाँले स्पष्ट पार्नुभयो । 
कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताउँदै नेता बस्नेतले सातै प्रदेशमा प्रदर्शन गर्ने र आगामी फागुनमा काठमाडौंमा मानव सागर उतार्ने बताउनुभयो ।