detail-img

‘जलवायु परिवर्तनले पारेको असरका बारेमा आवाज बुलन्द गर्नुपर्ने’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले औपचारिक रूपमा विश्वसामु आफ्नो आवाज बुलन्द गर्नपर्ने विचार ब्यक्त गर्नुभएको छ । 
पार्टीको परराष्ट मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप–२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आयोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पर्यावरणीय सङ्कट निम्तिन सक्ने बताउनुभयो ।


नेपालले सङ्कट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने उहाँको धारणा छ । 
अध्यक्ष ओलीले भन्नुभयो–हिमाललाई तीब्र असर पुर्याउने काम विकसित देशले गरिरहेका छन् । त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्नेतर्फ ध्यान दिने बेला आएको छ ।।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कूटनीतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताउनुभयो । 
देशले संयुक्त रूपमा समस्या समधान गर्ने आवाज उठाउनुपर्ने बेला आएको कुरामा उहाँले जोड दिनुभयो । 
नेकपा (एमाले) वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु विभागका महानिर्देशक डा. सिन्धु ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने डा. विमला राई पौडेल, घनश्याम पाण्डे, कञ्चन लामा, डा. महेश्वर ढकाल, नवराज पुडासैनी लगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।