detail-img

देशविरुद्धका षडयन्त्रप्रति सचेत रहन अध्यक्ष ओलीको आग्रह

काठमाडौ. । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध अहिले विभिन्नखाले षडयन्त्र सुरु भएकाले सचेत रहन नेपाली जनतालाई आग्रह गर्नुभएको छ ।
नेपाल सम्वत् ११४४ को अवसरमा नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीले शनिबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई अस्थिरतामा फसाउने, दुष्चक्रमा फसाउने कोशिश भइरहेको बताउनुभयो ।


उहाँले भन्नुभयो– जनतालाई पहिचानका नाममा, जातका नाममा अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । झगडा लगाउने प्रयास भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ ।
सरकारले अराजकतालाई नियन्त्रण नगरी प्रोत्साहित गर्ने काम गरेको अध्यक्ष ओलीको भनाइ छ । अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र जन्मिँँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले गणतन्त्रको रक्षाका लागि आफूहरूले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताउनुभयो ।
जनताभन्दा एउटा व्यक्ति ठूलो हुने कुरा, एउटा परिवार ठूलो हुने कुरा अबको सचेत जनता, नयाँ पुस्ताका लागि  स्वीकार्य नहुने चर्चा गर्दै सरकारले नराम्रो काम गर्दैमा गणतन्त्र खराब नहुने र ढुङ्गे युगतिर फर्किन नसकिने उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले ठूलो बलिदान दिएर ल्याएका उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभयो ।