detail-img

देश पछाडि पर्नुमा सबैभन्दा बढी जिम्मेवार राजा र राजतन्त्र होः महासचिव पोखरेल 

गमगढी (मुगु) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकासका दृष्टिकोणले देशलाई  सबैभन्दा पछाडि पार्ने काम राजा र राजतन्त्रले गरेको बताउनुभएको छ । 
नेकपा (एमाले) मुगु जिल्ला कमिटीको नवौं अधिवेशनलाई शनिबार (२०८० मङ्सिर ९ गते)  सदरमुकाम गमगढीमा उद्घाटन गर्दै महासचिव पोखरेलले राजा र राजपरिवारका सदस्यको रक्षा गर्न नसक्ने राजसंस्थाले जनताको रक्षा गर्न नसक्ने धारणा राख्नुभयो ।  
कालापानीको लिम्पियाधुरा, लिपुलेक क्षेत्रको नेपाली भूभाग भारतीय कब्जामा पुग्नुमा राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएकाले हो भन्ने यथार्थ बुझ्नुपर्ने उहाँको भनाइ छ । 
महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता, वर्तमान गठबन्धन सरकारको असफलताका कारण अराजकता सिर्जना भइरहेको र अराजकतावादीहरूले ठूलो बलिदानबाट ल्याएको गणतन्त्रमाथि औंला ठड्याउन थालेको बताउनुभयो । 
देशको अर्थतन्त्र तहस नहस भएको, विकास, निर्माणका काम ठप्प भइरहेको, समाजमा अराजकता मौलाइरहेको र जनतामा निराशा पैदा भइरहेको विषम अवस्थालाई बेवास्ता गर्दै  सबैभन्दा ठूलो र पुरानो भनिएको दल नेपाली कांग्रेस दुई बर्षपछि सरकारको नेतृत्व गर्ने पालो पर्खेर बसिरहेको महासचिव पोखरेलले बताउनुभयो । 
कांग्रेसले आफ्नो नीति अनुसार नेतृत्व गर्ने  सामर्थ्य गुमाइसकेको बताउँदै उहाँले प्रश्न गर्नुभयोे– देश विग्रेको टुलुटुलु हेरेर बस्ने कि सरकारको नेतृत्व फेर्ने ? 
माओवादी नेतृत्वको वर्तमान सरकार देशका लागि नभई विदेशीका लागि कम्फर्टेबल सरकार हो भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले पुष्टि गरेको महासचिव पोखरेलको भनाइ छ ।


महासचिव पोखरेलले जनप्रतिनिधिले शासन गर्ने अधिकारलाई कमजोर बनाउँदा जनतामा निराशा पैदा भएको विचार व्यक्त गर्नुभयो । २०७४ सालको संसदीय निर्वाचनमा जनताले नेकपा (एमाले) र माओवादीलाई बहुमत दिएका थिए, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई हरेक प्रकारले सकारात्मक दिशामा अगाडि बढाइरहेको अवस्थामा त्यो सरकार हटाइएपछि जनतामा निराशा बढेको विचार उहाँले व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– नालायक गठबन्धन सरकारका कारण अर्थतन्त्र सङ्कटमा परेको छ । बर्सेनि लाखौं युवा विदेशिइरहेका छन् । देश बनाउनुपर्ने जनशक्तिलाई खाडी मुलुकमा पठाएर कसरी देश बन्छ ?
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सडक, हवाई मैदान, भवनहरू निर्माण लगायत भौतिक पूर्वाधारका कामहरू भएका, सुरुङ मार्ग, सिंचाइ परियोजना जस्ता रोजगारी सिर्जना गर्ने आयोजनाहरू शुरु गरिएको र विदेश जाने युवाको सङ्ख्यामा कमी आएको चर्चा गर्दै त्यसैगरी रोजगारी बढाउने ठूला परियोजना सञ्चालन गर्नुपर्ने धारणा महासचिव पोखरेलले राख्नुभयो । 
नेकपा (एमाले)ले मिसन ग्रासरुटको प्रतिवेदनका आधारमा देश कसरी बनाउने भन्ने नयाँ योजनाका साथ अगाडि बढिरहेको र कर्णालीको समृद्धिको आधार के हो भन्ने कुरामा पनि प्रस्ट रहेको उहाँले सुनाउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– कर्णालीलाई पर्यटकीय केन्द्र बनाउन सकिन्छ । जलविद्युत परियोजना कर्णाली समृद्धिको अर्को आधार हो । यहाँका जडिबटी, यार्सागुम्वा भविष्यमा फार्मिङ गरेरै उत्पादन गर्न सकिन्छ । त्यसका लागि दूरदृष्टि भएको नेतृत्व र त्यसलाई अगाडि बढाउने बलियो संगठन चाहिन्छ । 
आफूहरूनेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्ति बनाउने र आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाई देशको विकास र समृद्धिको नेतृत्व गर्ने सङ्कल्पका साथ अगाडि बढिरहेको बताउँदै त्यही सङ्कल्पको एउटा कदम यही मङ्सिर १४ गतेदेखि मध्यपहाडि(पुष्पलाल) लोकमार्ग यात्रा ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा शुरु गर्न लागिएको उहाँले स्पष्ट गर्नुभयो । 
महासचिव पोखरेलले यस अघि पटक पटक तराईको भूभागमा मेची–महाकाली यात्रा गरिएको स्मरण गर्दै यसपछि  हिमाली क्षेत्रको विकासको सम्भावनाको जानकारी लिन हिमाली जिल्लाको यात्रा पनि गरिने बताउनुभयो । 
उहाँले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न सफलता मिलोस् भन्नुभयो । 
अधिवेशन उद्घाटन सत्रमा पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, यामलाल कँडेल लगायत नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।