detail-img

उपमहासचिव ज्ञवालीद्वारा विश्व समाजवाद फोरमलाई सम्बोधन

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले मङ्गलबार बेइजिङमा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान (कास)ले आयोजना गरेको १३औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्नुभएको छ । पूर्ण सभालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले नेपालमा जस्तै राष्ट्रिय अवस्था अनुसार माक्र्सवादको सिर्जनात्मक कार्यान्वयनको आवश्यकतामा जोड दिनुभएको उहाँसँगै फोरममा सहभागी पार्टीका केन्द्रीय सदस्य बिष्णु रिजालले बताउनुभएको छ ।   
नेकपा (एमाले)ले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको बताउनुभयो । 
‘जनताको जनमत नभई कम्युनिष्ट पार्टीको जीवन हुँदैन र समाजवादको भविष्य हुँदैन’ भन्दै सम्बोधन क्रममा उहाँले विश्व श्रमजीवी जनताको जितका लागि जनमुखी नीति र त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।
‘मानवता र विश्व समाजवादको विकासका लागि साझा भविष्यसँग समुदायको निर्माण’ शीर्षकको तीन दिने सम्मेलनमा ३७ देशका ८० जना र १०० भन्दा बढी चिनियाँ नेता तथा विज्ञहरूको सहभागिता रहेको छ । 
उपमहासचिव ज्ञवाली र उपमन्त्री सुनबीच भेटवार्ता 
यसैबीच, उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच मङ्गलबार बेइजिङमा भेटवार्ता भएको छ ।


भेटका अवसरमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको भेटमा सहभागी केन्द्रीय सदस्य बिष्णु रिजालले जनाउनुभएको छ । 
साथै, भेटमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गर्दै तिनको सफल कार्यान्वयन हुने विश्वास उपमन्त्री सुनले व्यक्त गर्नुभयो भने तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले त्यही बेलामा नेपाल र चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोन्नत भएको उल्लेख गर्दै विगतका सबै सहमति र सम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । 
भेटमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य अधिकारीहरूको पनि सहभागिता थियो ।