काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन परिणामले अब हुने निर्वाचनमा पार्टीले बहुमत ल्याउने स्पष्ट चित्र कोरेको बताउनुभएको छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागको २०७९ असार १६ गते बसेको बैठकमा अध्यक्ष ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू योजनाबद्धरूपमा एमालेविरूद्ध एक हुँदा पनि लोकप्रिय मतमा पार्टी पहिलो भएको वताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा निर्वाचित सिटसंख्या केही कम आएकोमा भन्दा आफूलाई पार्टीभित्र देखिएको प्रवृत्तिले चिन्तित बनाएको वताउनुभयो । अध्यक्ष ओलीले पार्टीभित्रको डरलाग्दो प्रवृत्तिको उपचार आगामी निर्वाचन अघि नै खोजिने छ भन्नुभयो ।
बैठकमा अध्यक्ष ओलीले स्थानीय निर्वाचनको समग्र पाटोको चर्चा गर्दै १५० पालिकाका प्रमुख पद पार्टीभित्रको अन्तर्घातका कारण गुमाउनु परेको तथ्य राख्नुभएको थियो ।
अध्यक्ष ओलीले भन्नुभयो– यसपटकको चुनावमा प्रशासनिक धाँधलीले सीमा नाघ्यो । प्रहरी प्रशासन यति धेरै दुरूपयोग गरियो कि २०१५ सालदेखि हालसम्मको चुनावमा यति धेरै दुरूपयोग कहिल्यै भएको थिएन ।
अध्यक्ष ओलीले भन्नुभयो–मतको आधारमा एमाले नै पहिलो पार्टी बनेको छ, काँग्रेस दोस्रोे । यो तथ्य जनताले नबुझुन् भनेर प्रतिक्रियावादी र गठबन्धनका मान्छेहरू एमालेलाई हरायौं भनिरहेका छन् ।
अध्यक्ष ओलीले बैठक अघि स्थानीय तह निर्वाचनमा विभागको कार्ययोजना बमोजिम प्रचारको काममा सहयोग गर्नुहुनेहरूलाई धन्यवाद पत्र प्रदान गर्नुभयो ।
बैठकमा विभागद्वारा प्रस्तुत आठबुँदे कार्ययोजना पारित गरिएको छ ।
अध्यक्ष ओलीले कार्ययोजना राम्रो रहेको र प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको थियो ।
पार्टीका उपमहासचिव तथा विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा प्रतिवेदन र विभागको कार्ययोजना पारित गरेको केन्द्रीय कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख बिष्णु रिजालले वताउनुभयो ।
उपप्रमुख रिजालका अनुसार कार्ययोजनामा आगामी निर्वाचनलाई केन्द्रमा राखेर प्रचार क्षेत्रका काम गर्ने, पार्टीको वेबसाइट, फेसबुक पेज लगायत सामाजिक सञ्जाल प्रभावकारीरूपमा सञ्चालन गर्ने आदि रहेका छन् ।