detail-img

प्रतिक्रियावादीहरू दुलोबाट निस्कने प्रयास गरे पनि राजा बन्ने सपना कुनै हालतमा पुरा हुन्नः अध्यक्ष ओली  

गोठालपानी(बैतडी) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा बढेको निराशाको मौका छोपेर प्रतिक्रियावादीहरू दुलोबाट निस्केर राजा बन्ने सपना देखे पनि त्यो कहिल्यै पुरा नहुने बताउनुभएको छ ।
पार्टीले शुरू भएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को पहिलो दिन आज बैतडीको  गोठालपानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले देशमा कुनै पनि हालतमा प्रतिगमन सफल हुन नसक्ने बताउनुभयो ।  
गठबन्धन सरकारको हुतिहारा प्रवृतिका कारण जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले अहिले प्रतिक्रियावादी शक्तिहरू दुलोबाट बाहिर निस्कने प्रयास गरिरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– उनीहरूको यो दिवास्वप्न कुनै पनि हालतमा पुरा हुन्न ।


पूर्वी नेपालमा पहिचानका नाममा देखिएको असन्तुष्टिप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले देशको एकतालाई खलल पार्ने खालका कुराले समाजमा बेमेल बाहेक केही नहुने बताउनुभयो । 
पहिचानको सवालमा एमाले सबैभन्दा बढी पक्षपाती र हरेक क्षेत्र, वर्ग, लिङ्ग, जातजातिको पहिचानको संवैधानिक र कानुनी व्यवस्था गर्ने पार्टी पनि एमाले भएको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– पहिचानको राजनीति भनेको अरुलाई घृणा गर्ने, हिंसा गर्ने, जनताको भावनामा चोट पुर्याउने, देश विभाजन गर्ने, समाजमा एकता खल्बल्याउने कुरा हो । 
देशमा अहिले लोकतन्त्रको अभ्यास सहि रूपमा नभएको भन्दै उहाँले सरकारकै कारण देशमा अराजकता, कमिशनको खेल भइरहेको भनाइ राख्नुभयो । 
शहीद दशरथचन्दको जिल्ला बैतडीका समस्या आफूले बुझेको र यहाँ शहीदको राष्ट्रिय प्रतिष्ठान निर्माण गर्नुपर्ने विषयमा हाम्रो ध्यान गएको अध्यक्ष ओलीले बताउनुभयो । 
बैतडीमा विकासका काम अघि बढाउन एमाले सकारात्मक रहेको र यहाँका जनताले झुलाघाटमा पक्की पुल नहुँदा भोग्नुपरेको समस्या आफूहरूले बुझेरै सरकारमा रहेको समयमा तुईन विस्थापित गर्नका लागि भारतको उत्तराखण्डका मुख्यमन्त्री, प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेर दुवैतर्फको मध्यभागमा पुल निर्माणको सहमति गरेको उहाँले स्मरण गर्नुभयो । 
नेकपा (एमाले)ले सरकारको नेतृृत्व गरिरहेको समयमा देशमा समृद्धिको आशा पलाएको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो– महाकाली, सेती कोरिडोर, पूर्वपश्चिम मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग लगायत भौतिक पूर्वाधार निर्माणका सयौं कामहरू अघि बढायौं । भूकम्पले भत्काएका नौलाख घरहरू, बारा जिल्लामा आँधीहुरीले उडाएका ८६९ घरहरूको पुनः निर्माणको काम एमालेले सम्पन्न गर्यो । 
वर्तमान गठबन्धन सरकारले कमिशन र तस्करीलाई प्रोत्साहन गर्नुका साथै जनतामा निराशा बढाएको उहाँको भनाइ छ । 
अध्यक्ष ओलीले भन्नुभयो– नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा र एमालेको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साकार पार्ने उद्देश्यका साथ आजबाट पुष्पलाल मध्यपहाडी लोकमार्गमा शुरु गरेको अभियानमा देखिएको उत्साहपूर्ण साथ र सहयोग, एमालेप्रतिको विश्वासले मलाई हर्ष लागेको छ । त्यसप्रति आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
आज बैतडीमा दशरथचन्द नगरपालिकानगरपालिका–५ बास्कोटस्थित शहीद दशरथ चन्दको जन्म घरमा पुगी अध्यक्ष ओली लगायतका नेताहरूले उहाँको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्नुभयो । त्यस्तै, बैतडीमै त्रिपुरासुन्दरी मन्दिर र डडेल्धुरामा उग्रतारा मन्दिरमा दर्शन गर्नुभयो । 
अध्यक्ष ओली लगायतका नेताहरूले बैतडीको खोड्पेमा बझाङका कलाकारद्वारा प्रस्तुत डेउडा गीत तथा नृत्य अवलोकन गर्नुभयो । उपस्थित जनसमुदायलाई अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गर्नुभयो ।यात्राको पहिलो दिन आज १३० किलोमिटर यात्राको पूर्व निर्धारित यात्रा पूरा गरी टोली डडेल्धुराको अमरगढीमा बास बसेको छ । 

एकीकृत समाजवादीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमाले प्रवेश 
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज नरेन्द्र विष्ट, बैतडी जिल्ला अध्यक्ष महादेव भट्टलगायतका नेताहरू एमालेमा समाहित हुनुभयो । 
त्यसैगरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमा निर्वाचित नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र रमेश कोली पनि एमालेमा प्रवेश गर्नुभएको छ । 
उहाँहरूलाई अध्यक्ष ओलीले टीका लगाएर स्वागत गर्नुभयो ।