detail-img

दैलेखको राकममा दश हजार जनता उतार्ने तयारी

दैलेख । नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङः  समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत  कर्णालीको राकम कर्णालीमा हुने सन्देश सभामा नेकपा (एमाले) दैलेख जिल्ला कमिटीले दश हजारभन्दा बढी जनता उतार्ने तयारी गरेको छ । 
पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा टोली भोलि मङ्सिर १७ गते दैलेख आइपुग्ने हुँदा आठबीस नगरपालिकाको राकम कर्णालीमा हुने सन्देश सभालाई बृहत आमसभाको रूपमा सम्पन्न गर्ने तयारी गरिएको  हो ।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभालाई सम्बोधन गर्नु हुने छ । उक्त आमसभामा वृहत डेउडा खेलसमेत खेलाउने तयारी गरेको नेकपा (एमाले) आठबीस नगर कमिटीका अध्यक्ष अमरबहादुर माझीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको कालीकोट र दैलेखको पश्चिम क्षेत्रमा डेउडा खेल भनेपछि हुरुक्कै हुने जनमानस बढी भएका कारण आमसभामा आएका मानिसलाई डेउडा मार्फत् एमालेका विचार र नीतिका बारेमा बुझाउन डेउडा खेल खेलाउन लागिएको माझीले जानकारी दिनुभयो ।  
आमसभामा कालिकोटका चर्चित डेउडा गायक पुष्पराज आचार्य र विपना सिंहको दमदार प्रस्तुति हुनेछ । 
आमसभामा डेउडा खेलका अलावा स्थानीय झाँकी अन्तर्गत मारुनी नाच, पञ्चेवाजा, हुड्के नाच, श्रम नाच देखाइने अध्यक्ष माझीले बताउनुभयो ।
‘हामीले १७ गते मध्यपहाडी राजमार्गको अछाम र दैलेख जोड्ने कर्णाली पुलमा अध्यक्ष केपी शर्मा ओलीलगायत अभियान टोलीलाई स्वागत गर्ने तयारी गरेका छौं । त्यसका लागि व्यानर राख्ने, स्वागतद्वार बनाउने कार्य भइरहेको छ । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कंडेलको नेतृत्वमा आमसभा तयारी तीब्र रूपमा भइरहेको र दश हजार भन्दा बढी जनता सहभागी गराउने योजनाका साथ तयारी भइरहेको माझीले बताउनुभयो ।