धुलिखेल । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रजातन्त्र दरबारमा लगेर बुझाउने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई क्रान्तिकारीहरूले गुरु थापेको वताउनुभएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूका लागि नेकपा (एमाले) काभ्रेद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो–‘जोसँग सङ्घर्ष गर्नुछ उसैसँग गठजोड गरेर जानेहरू गद्दार हुन् ।’
उहाँले देउवासँग घाँटी जोडिरहेका नेताहरू कम्युनिष्ट आन्दोलनबाट विचलित भएको बताउनुभयो ।
उहाँले गठबन्धनबाट देश नबन्ने बताउनुभयो ।
‘अहिलेको आवश्यकता राजनीतिक धु्रवीकरण हो, गठबन्धन होइन’–महासचिव पोखरेलले भन्नुभयो–‘राजनीतिक परिवर्तनका लागि दलहरूको गठबन्धन आवश्यक छ तर मुलुक निर्माण र समृद्धिका लागि गठबन्धन उपयुक्त होइन । यो केवल सत्ताको लुछाचुँडी र अवसरवादको झुण्ड हो ।’
गठबन्धनले देश बनाउन नसक्ने भन्दै महासचिव पोखरेलले राष्ट्रभक्त, देशभक्तहरू एकैठाउँमा हुनु जरूरी भएकाले राजनीतिक धु्रवीकरण आवश्यक रहेको बताउनुभयो ।
एमाले र माओवादी मिलेर नेकपा बनेको होइन ? प्रचण्डले पार्टी बन्न दिए ? मोर्चा बनाएर कम्युनिष्ट आन्दोलनको विर्सजन गराएको महासचिव पोखरेलले बताउनुभयो ।
‘मुलुकको विकास र समृद्धि एमालेले मात्रै गर्न सक्छ’–उहाँले भन्नुभयो–‘काँग्रेसको पछि लागेर समृद्धि सम्भव छैन । देश बनाउने हो भने नेकपा एमालेको नेतृत्व आवश्यक छ । एमालेले मात्रै नागरिकको जीवनको सुरक्षा गर्न सक्छ ।’
प्रशिक्षणमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटाले जनप्रतिनिधिहरूले जनताको दुःख सुखमा एकाकार भएर काम गर्नुपर्ने बताउनुभयो ।
पार्टीले टिकट दिएर निर्वाचित भए पनि सबै जनताको पक्षमा काम गर्न बास्कोटाले निर्देशन दिनुभयो ।
एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जनप्रतिनिधिहरूले पार्टी संगठन र नागरिकप्रति प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) ले काभ्रेमा १३ वटा पालिकाका ७०१ पदमध्ये २४१ पदमा विजयी हासिल गरेको छ ।
कार्यक्रममा एमाले काभ्रेबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य रुकमणि राना, बागमति प्रदेश कमिटी उपाध्यक्ष रामहरि सुवेदी, जिल्ला कमिटी पदाधिकारीहरू उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिव राजकुमार सापकोटा र रिता ढकाल, जिल्ला कमिटी सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।