detail-img

राष्ट्रिय एकताबाट मात्र देशलाई समृद्ध बनाउन सकिन्छः अध्यक्ष ओली 

हर्कपुर (ओखलढङ्गा)। नेकपा (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा कोशी प्रदेश प्रवेश गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २०८० मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरू भएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ मङ्गलबार (२०८० मङ्सिर २६ गते) रामेछापको मन्थलीबाट सिन्धुलीको खुर्कोट हुँदै कोशी प्रदेश प्रवेश गरेको हो । 
कोशी प्रदेश प्रवेशका क्रममा यात्रा टोलीको स्वागतका लागि उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुरमा हजारौंको जनसहभागिता रहेको थियो । 
नेकपा .(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै कोशी प्रदेशको द्वारका रूपमा रहेको ओखलढुङ्गाको हर्कपुरमा आयोजित विशाल सभालाई सम्बोधन गर्नुभएको थियो ।


अध्यक्ष ओलीले सम्बोधनका क्रममा कोही पनि भावनामा बगेर देश नबन्ने बताउँदै राष्ट्रिय एकताबाट मात्र देशलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभयो । 
अध्यक्ष ओलीले राजनीतिक विषयमा हुने मतभेदलाई वैधानिक बाटोबाट छलफल गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– हामी एकताबद्ध भएर राष्ट्र निर्माणको काममा अगाडि बढौँ, हामी एकजुट भएर अगाडि बढौँ, समस्या समाधान गर्न सकिन्छ । उहाँले जनताको बीचमा फोटो ल्याएर देश बनाउन नसकिने बताउनुभयो । 
अध्यक्ष ओलीले देशमा शान्ति सुव्यवस्था कायम गर्न सक्ने पार्टी एमाले मात्र भएको बताउँदै कानुनको राज, न्यायको राज एमालेले मात्र गर्न सक्छ भन्नुभयो । 
यात्रा अभियानमा नागरिकको उत्साहपूर्ण सहभागिताको प्रशंसा गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकबाट गुनासो र सुझावहरू प्राप्त भएका र ती विषयमा पार्टीले गम्भीरतापूर्वक छलफल गरी ध्यान दिने बताउनुभयो ।
कोशी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रमको शुरूवात महासचिव शंकर पोखरेलले गर्नुभएको थियो । 
जनसभाको शुरूमा अभियानको झण्डा हस्तान्तरण गरिएको थियो । पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज गुरु बरालले सचिव तथा कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठलाई राष्ट्रिय झण्डा र बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई पार्टीको झण्डा हस्तान्तरण गर्नुभयो । 
हर्कपुरमा आयोजित सभा समापनपछि अघि बढेको यात्रा टोली साँझ हलेसी हुँदै खोटाङको सदरमुकाम दिक्तेल पुगेको थियो ।


राष्ट्र निर्माणको बृहत्तर योजना बनाइने 
यस अघि सिन्धुलीको खुर्काेटमा आयोजित संक्षिप्त सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले)ले राष्ट्र निर्माणको बृहत्तर योजना बनाउने बताउनुभयो । 
झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी जिल्लाहरूको यस यात्राबाट प्राप्त अनुभव, जनताका सुझाव, विकासका सम्भावनालाई समेटेर राष्ट्र निर्माणको बृहत्तर योजना बनाउने अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो । 
उहाँले जनताका समस्या र गुनासाको सम्बोधनका लागि पार्टीले गम्भीरतापूर्वक ध्यान दिने बताउनुभयो ।  
अध्यक्ष ओलीले रामेछापको मन्थलीमा निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कमा रहेको जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नुभयोे । 
अध्यक्ष ओली र यात्रा अभियानमा रहनुभएका नेताहरूले विहान निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभयो । 
अध्यक्ष ओली नेतृत्वको यात्रा अभियान टोली अघिल्लो दिन रामेछापको मन्थलीमा बास बसेको थियो । अध्यक्ष ओली लगायत नेताहरूले मङ्गलबार विहान रामेछापको मन्थली नगरपालिका–६ सेलघाटस्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन गर्नुभएको हो । सो क्रममा अध्यक्ष ओलीले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको थियो । 
गेमचेञ्जर आयोजनाको रूपमा रहेको सुनकोशी–मरिण डाइभर्सन आयोजना अध्यक्ष ओली प्रधानमन्त्री रहनुभएको समयमा शुरू भएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम उद्गम बिन्दु सुनकोशी नदीतर्फबाट धमाधम भइरहेको छ । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । 
सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य शुरू भएको छ । सुनकोशी नदीको पानी मरिणमा झारेर रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।
अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ का साथ मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा हुनुहुन्छ ।