भोजपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काम गर्ने इच्छा शक्ति हुँदा धेरै काम गर्न सकिने बताउनुभएको छ ।
झुलाघाट–चिवाभन्ज्याङःसमृद्धिका लागि सङ्कल्प यात्रा अभियान अन्तर्गत आज (२०८० मङ्सिर २७ गते) भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नाकाबन्दी, भूकम्प र कोभिड महामारीको बेलामा पनि नेकपा (एमाले)ले धेरै काम गरेको बताउनुभयो ।
नेकपा (एमाले) सरकारबाट हटेपछि भूकम्पपछिको पुनर्निर्माण सबै काम रोकिएको अवस्थामा पुनः नेकपा (एमाले) सरकारमा गएपछि सबै पुनर्निर्माणका काम गरेको उहाँले स्मरण गराउनुभयो ।
यस बाहेक विद्युत, खानेपानी, सडक, पुल, सिँचाई, रेल, विभिन्न पूर्वाधार, अनेक खालका विकास नेकपा (एमाले)ले सरकारमा रहेको समयमा गरेको अध्यक्ष ओलीले बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो– हाम्रो समयमा धेरै कामहरू भए, ति कामबाट विरोधीहरू आत्तिए । तिनै विरोधी शक्ति एमालेभित्र समेत घुसेर पार्टी फुटाउने काम गरेको उहाँको भनाइ छ ।
एमालेलाई केही समयको लागि सत्ताबाट हटाएको भए पनि फेरि जनताको बहुमतसहित सरकारमा पुग्ने विश्वास अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । नेकपा (एमाले) गठबन्धन खोजेर हिँड्न झञ्झट नगर्ने तर कोही राष्ट्रिय शक्ति बन्न आउँछौँ भन्छन् भने हात मिलाएर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।
सबै सिद्धाउन खोज्दा पनि कसैले सिध्याउन नसकेर नेकपा (एमाले) पहिलो राष्ट्रिय शक्ति बनेको तर अब भने एमाले एकल बहुमतसहितको पहिलो राष्ट्रिय शक्ति बन्नु आवश्यक रहेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।
जनताका कुरा सुन्न र जनतासँग प्रत्यक्ष भेटघाट गर्न नेकपा (एमाले) जनताको बीचमा आएको स्पष्ट गर्दै उहाँले भन्नुभयोे– समस्या के छन् र समाधान कसरी हुन्छ भन्ने सुझाव लिई योजना बनाउनका लागि यो यात्रा आयोजना गरिएको हो ।
अभियानबाट एमालेले पहाडका समस्या र समस्या समाधानका उपायको बारेमा अनेक ज्ञान प्राप्त गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
यो ज्ञान र सीपलाई व्यावहारिक प्रयोगमा ल्याउन २०८४ मा नेकपा (एमाले)को एकल बहुमतको सरकार बन्नुपर्ने उहाँले बताउनुभयो ।
त्यसका लागि अब पार्टी, पार्टीका कार्यकर्ता र नेपाली जनताले कुनै पनि गल्ती गर्न नहुने र गल्ती भयो भने देशको अस्तित्व नै सङ्कटमा पर्न सक्ने उहाँले बताउनुभयो ।
गठबन्धन सरकार कुहिएको फल जस्तै भएकाले अब यसको अन्त्य हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यो सरकार जति लामो गयो देशको लागि त्यति नै दुर्भाग्य हुने बताउनुभयो ।
यसैगरी भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले नागरिकलाई व्यावसायिक सीप र तालिम आवश्यक रहेको बताउनुभएको छ । सीप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानुपर्ने उहाँले बताउनुभयो । यसअघि नेकपा (एमाले)को समृद्धिका लागि सङ्कल्प यात्रा टोली भोजपुर गर्दैगर्दा भोजपुर र खोटाङको सिमाना चखेवा भञ्ज्याङमा भव्य स्वागत गरिएको थियो ।
खानेपानी आयोजना उद्घाटन
अध्यक्ष ओलीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गर्नुभयो ।
ज्येष्ठ नागरिकसँग अन्तर्क्रिया
अध्यक्ष ओलीले बिहान दिक्तेलमा ज्येष्ठ नागरिकसँग भेट तथा अन्तर्क्रिया गर्नुभयो ।
सो क्रममा अध्यक्ष ओलीले ज्येष्ठ नागरिकहरूका सल्लाह, सुझाव र गुनासो सुन्नुभएको थियो ।